भारतमा थप ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिए

everest kitchen
photo file

एजेन्सी। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको हो ।

शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै छ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । शनिबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका छन् । शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ सङ्क्रमित भएको उल्लेख थियो ।

सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै समयावधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या घटेको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कूल सङ्ख्या चार लाख १२ हजार १५३ रहेको छ । जवकी अघिल्लो दिन चार लाख १४ हजार १५३ रहेको थियो । सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ ।