चितवनको निषेधाज्ञा थप कडाईका साथ साउन ३२ गतेसम्म थप

everest kitchen
file photo

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि निषेधाज्ञामा कडाइ गरि आजबाट लागु हुने गरी साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक आदेश जारी गर्दै निषेधाज्ञा लम्ब्याइएको जनाएको हो ।

प्रशासनको आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा, मासु, अण्डा, चल्ला, दाना खान पकाउने ग्याँस पसल, एग्रोभेट, बीउबिजन, रासाायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने व्यवस्था गरिएको छ । दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाइने जनाएको छ ।

साथै अन्य पसलहरु आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनको आदेशमा उल्लेख छ ।
निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाइने छ ।

पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेत हुन प्रशासनले आग्रह गरेको छ । प्रशासनले संक्रमण घटबढ भएमा जुनसुकै बेलामा नियमहरू फेरबदल गर्ने बताएको छ ।