लघुकथा -जन्मदर्ता
झुमा कट्टेल काफ्ले
आफ्नो बुबा जिवित हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको उनलाई हेक्का नै थिएन। उनी डेढबर्षकी हुँदा उनका बाबुले छोरी जन्मिई भनेर सामान्य भनाभन मै आमालाई छोडेर गएको पनि बाइस बर्ष बितिसकेछ।
सानो छँदा आमालाई बुबा कहाँ हुनुहुन्छ भनेर सोध्दा सधैं आमा रुनुहुन्थ्यो ।अलि ठूली भएपछि आमाको आखाँमा आशुँ देख्न नसकेर त्यो प्रश्न गर्न छोडिसकेकी थिइन् उनीले ।बुबा नभएपनि उनकी आमाले छोरीको लालनपालनमा केही कमी हुन दिईनन् ।त्यही भएर उनले आमाको चाहाना अनुसार राम्रोसँग पढिन् ।कम उमेरमा नै आफ्नै गाउँमा कार्यालयको प्रमुख भएर काम गर्न थालिन्।
बुबाले छोडेको कुरा उनलाई आज अफिसबाट फर्कदा बाटोमा भेट भएकी छिमेकी आन्टीबाट थाहा भयो। घरमा आएर उनले आमालाई छिमेकी आन्टीले भनेको सबै कुरा बताईन् ।त्यो सुनेर आमा भक्कानिदैं रुन थालिन्। सानो छँदाको रुवाई र अहिलेको रुवाई एउटै थियो तर बुबा फर्केर आउनुहुने कुरामा आमा अझै विश्वस्त हुनुहुन्थ्यो।
समय बित्दै गयो।एकदिन एउटा मृगौला पिडित मानिस उनको अफिसमा सहयोगका लागि सिफारिस बनाउन आए । संयोगबश त्यो काम उनले नै गर्नपर्ने थियो। त्यो सिफारिस बनाउन आवश्यक नाम र ठेगाना सोध्दा उनको जन्मदर्तामा उल्लेख गरिएको नाम जुन नामबाट उनको नागरिकता पनि बनिसकेको छ ।
त्यसपछि उनले ती मानिसलाई भोलिपल्ट अस्पतालमा ल्याईदिने आश्वासन दिइन्। घरमा सबै बृत्तान्त आमालाई बताईन् ।भोलिपल्ट हस्पिटल पुगेर आवश्यक रकम जम्मा गरि घर फर्किइन्।
उनमा एउटा छुट्टै नयाँ उमङ्ग छाएको देख्न सकिन्थ्यो।