रोनाल्डोको गोल रद्द हुँदा रोकियो युभेन्टस

everest kitchen

एजेन्सी। इटालियन सिरिए ए को नयाँ सिजनको पहिलो खेलमा उपाधिको दाबेदार युभेन्टस उडिनेजेसँग २–२ को बराबरीमा रोकिएको छ । पाउलो डिबालाले खेलको तेस्रो मिनेटमा नै युभेलाई अग्रता दिलाएका थिए भने २३ औँ मिनेटमा हुवान क्वाड्राडोले युभेको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफमा रोबर्टो प्रेरेरा र जेराड डियोलोफूले गोल गर्दै खेल बराबरी गरेका थिए ।

३६ वर्षीय रोनाल्डो खेलको ६० औँ मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए । खेल २–२ को अवस्थामा रहेको बेला इन्जुरी समय उनले फेडेरियो किएसाको क्रसमा हेडमार्फत गोल पनि गरे । तर, भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड करार गर्दै रद्द गरेको थियो ।

स्टार खेलाडी क्रिस्टिायनो रोनाल्डोले क्लब छाडेर जाने चर्चाबीच उनी मासिमिलानो एलेग्रीको शुरुवाती ११ मा अटाएका थिएनन् । तर, युभेका निर्देशक पाभेल नेडभेडले भने पाँच पटकका बालोन डि’ओर विजेतालाई शुरुवातबाट नै नखेलाउनु साझा निर्णय भएको स्पष्टिकरण दिएका थिए । ‘उनी युभेन्टसमा रहनेछन्,’ नेडभेडले भने ।