महामारीले रोकेन मेलापर्व

everest kitchen

बनेपा। हरेक वर्ष साउन शुक्ल पूर्णिमाको दिन मनाउँदै आएको पर्व जनैपूर्णिमा÷रक्षाबन्धनका अवसरमा यहाँ लाग्ने मेलामा प्रशासनले भीडभाड नगर्न आग्रह गरे पनि भक्तजनहरुको ठूलो भीड लागेर मनाइएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लाग्ने मेलामा विभिन्न क्षेत्रबाट आएका दर्शनार्थीको भीड लागेको हो । यहाँका शिव मन्दिरमा हरेक वर्ष जनैपूर्णिमाको दिन लाग्ने जात्रामा यस वर्ष कोभिड–१९ को प्रभावका कारण जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मेला जात्रा नगर्न आग्रह गरेको भए पनि भक्तजनले भने ठूलै भीडका साथ त्यहाँ पुगेर दर्शन र पूजाआजा गरेका छन् ।

विभिन्न क्षेत्रबाट त्यहाँ पुगेका भक्तजन कोही पैदल यात्रा गरेर र कोही सवारीसाधनमा पुगेका थिए । गत वर्षभन्दा पनि यस वर्ष गोसाइँस्थानडाँडामा मानिसदेखि सवारी साधनको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थिए ।

गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले यस वर्ष पनि कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका कारण यहाँ लाग्ने जात्रा स्थगन गरिएको भए पनि झन् यस वर्ष गत वर्षभन्दा दर्शनार्थीको सङ्ख्या उल्लेख्य रहेको बताए । “गत वर्ष जस्तै यो वर्ष पनि कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले जात्रा नगर्ने निर्णय संरक्षण समितिले गरेको थियो तर भक्तजनहरु स्वतःस्फूर्त रुपमा आउने र दर्शन गर्न आउने गरेका कारण व्यवस्थित गर्न समस्या भएको हो,” उनले भने।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीले सो क्षेत्रमा बढी भीडभाड भएर मेला भरेको गुनासो आएपछि बेलुका ६ बजेदेखि मेला बन्द गर्न प्रहरी प्रशासन परिचालन गरिसकेको बताए । कोभिड–१९ को सङ्क्रमण दरमा वृद्धि भइरहेका कारण सङ्क्रमणको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कुनै पनि भेला सम्मेलन र भीडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेको छ ।