काबुल विमानस्थल अहिले पनि अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

everest kitchen

एजेन्सी । काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ ।

यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो भीड लागेको छ ।

अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ । गएको हप्तादेखि काबुलको अन्तरराष्ट्रिय विमानस्थल निकै अव्यवस्थाबीच चलिरहेको बताइएको छ ।

गत अगस्त १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र अफगानिस्तानको सहयोगी राष्ट्रले करिब एक हप्तादेखि सञ्चालनमा ल्याएको उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसको ठूलो संख्याको सामना गर्न सङ्घर्ष गरिरहेका छन् ।

काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तै चुनौतीपूर्ण रहेको भए पनि मानिसले सुरक्षित व्यवस्थापनको माग गरिरहेका छन् । यहाँको प्रशासनले सक्दो प्रयास गरिरहेको बताए पनि एकै पटक धेरै मानिसले देश छोड्न खोज्दा सम्भव नहुने भएकाले यहाँ अव्यवस्था देखिएको हो ।