कविता – परदेशी जिवनका सासहरु
अनुग्रह राना मगर (पुस्प)
ठुलै सपना बोकेर
उडेथेँ आकाशमा
तान्दै लामालामा सासहरु
साहुको रिणले च्यापेपछी
म के गरौँ देशमा
बेरोजगारी भएपछी
अरु केही थिएन
उ बेलामा
परदेशी हुन बाहेक
सोच्दै थिएँ म एक नालायक
फेरि तान्दै लामालामा सासहरु
देशका लाखौं खम्बा
भित्रको खम्बा म एक
सोँच्दै सोँच्दै पुगियो
अर्काको देशमा
जता गए नि दु:ख गर्नुपर्ने रहेछ
हेपाइती भेषमा
न त बाबा छन् न त आमा
यो कर्मथलो परदेशमा
हल्का चल्ने सासहरु
रोकिन खोज्दै थिए
रमाउँदै खुट्टा तान्नेहरु
ताली ठोक्न खोज्दै थिए
तर पनि हार मानेको छुइन
दुई पाउरोटी र
एक बोतल पानीमा
चलाउँदैछु जिवनका सासहरु
मुढेबल निकाली
बजाउँदै ती फलामका
मोटे रडहरु
बिगतका दिनलाई सम्झिदैँ
उचाल्दै छु हम्मर र घनहरु
तान्दै लामालामा सासहरु
खुइय गर्छु पसिना पुछ्दै
दिनरात नभनी पानीमा रुझ्दै
अब त बढी भयो भनी
टुसुक्क बस्छु
तान्दै लामालामा
परदेशी जिवनका सासहरु।
संखुवासभा हाल मलेसिया