लघुकथा – अविवाहित
श्रीकृष्ण शर्मा पोखरा
“मे आइ ह्याभ योर कम्पेनी ?” लगभग दस जोड दुई जतिको आवाजले मेरो एकाग्रता खङ्ग्रङ्ङ भयो । मेलै पुलुक्क हेरेँ मात्र । उसले फेरि थपी, “इट इज सो फार, सो आई निड योर कम्पेनी” । म मुसुक्क मुस्कुराएँ । धेरै पछि आएर मात्र ओठमा गुलाब फुलेको थियो । मैले सहज उत्तर दिएँ, “सियो, ह्वाई नट ?”
त्यसपछि ऊ मेरो नजिकै टाँसिई । मैले पछाडि हेरेँ । चपाइएका अनुहार कोही छन् कि भनेर, अनि सामान्य जस्तै भएँ । हो नि, मेरा मामा वा फुपूकी छोरी पनि त हुन सक्छे । अरूले त्यसै कुरा काट्न पाइन्छ । म आफैँसँग रिसाएँ ।
कुराको सिलसिला अगाडि बढ्यो । उसले मेरो नामबाट सुरु गरी सोध्न । मैले मेरो नाम श्रीकृष्ण भनी बताएँ । उसले आफ्नो नाम गार्गी भण्डरी बताई । “हाउ स्विट नेम !” मेरा ओठले अनुमति बिना नै ढोका खोलेका थिए ।
उसका सबै कुरा म पनि सोध्दै थिएँ । बडो रसमय वातावरणमा आलुमाइला चोकबाट सशस्त्र क्याम्पतिर हाम्रा पाइला बढिरहेका थिए । सधैं ढिलो लाग्ने बाटो आज कति चाँडै सकियो मैले पत्तो नै पाइनँ ।
बाह्रको परीक्षा सकेर एक वर्ष जिन्दगीको मजा लिन खाली बसेको उसले धारणा जताई । ऊ मदरल्यान्ड बोर्डिङ स्कुलबाट पढेकी । यस समयमा उसले जीवनका बारेमा धेरै कुरा ज्ञान हासिल गरी रे । खाली पढाइ यो त्रासबाट एक वर्ष रिल्याक्स गरेकी रे । ऊ कहिलेकाहीँ चिल मोडमा हुन्छे रे ।
सबै सोध्दै जाँदा जागिरमा मात्र उसले ब्रेक लागइन् । म्यारिटल स्टाटस पनि सोधी । मलाई यो प्रश्न आँखा अघि उभिएको तरबारझैँ लाग्यो । यो मीठो सम्बन्ध टुटाउन मन लागेन । भित्र मनमा के थियो । त्यो कुरा फ्रायडलाई सोध्नुपर्छ । विवाह गरेको पनि तेह्र वर्ष लाग्दै छ । एउटी परी जस्ती छोरी छिन् तर खै किन मैले भनिहालेँ– “म अविवाहित ।”