नेपाली कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि

everest kitchen

काठमाडौँ । नेपाली कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटिएका छन् । विहीबार निर्वाचन प्रतिनिधिहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार जिल्ला खटाइएको कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

विवाद भएका जिल्लाहरुलाई बाँकी राखेर दुर्गम तथा पहाडी जिल्लाहरुमा निर्वाचन प्रतिनिधिहरु शुक्रबार काठमाडौंबाट खटाइएको हो । जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह र वडा अधिवेशनका लागि प्रतिनिधि खटाइएका हुन् । उनीहरुलाई निर्वाचन सामग्रीसहित जिल्ला खटाइएको छ ।

यही भदौ १८ गते देशभर वडा अधिवेशन गर्ने मिति तय भएको छ । जिल्लामा निर्वाचन प्रतिनिधि खटाइएपछि कांग्रेस महाधिवेशन हुने लगभग निश्चित भएको छ । आगामी मंसिरको दोस्रो साता काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने मिति तय भए पनि पाँच पटक महाधिवेशनको मिति सरेकाले यो पटक पनि महाधिवेशन हुनेमा आशंका छ ।

तर जिल्लामा निर्वाचन प्रतिनिधिहरु खटिएसँगै अब आशंका कम हुँदै गएको कांग्रेस नेताहरुले बताएका छन् । महाधिवेशनबारे आशंका भएपछि काठमाडौं केन्द्रित भएका कांग्रेसका नेता तथा कार्यकर्ताहरु धमाधम जिल्ला फर्किएका छन् ।