कविता: सन्ध्या
संगीता दाहाल
जब दिनभरिको रापिलो घामले
सारा सृष्टि उष्ण बनाएर,
रापिलो सूर्य!
बिस्तारै क्षितिजको घुम्टो ओढन थाल्छ।
उसैको आडबाट,
सुस्तरी सन्ध्या पदार्पण गर्छिन्।
र, साथमा शीतलता, मादकता र मुग्दता
उपहार ल्याऊछिन् ।
सारा सृष्टिलाई झलमल्ल बनाउँछिन्।
आफ्नो कौशलताले!
दिनभरको कठोर परिश्रमले,
आलस तालस् भएका ती प्राणी!
सन्ध्याको शीतलता पाएर
जीवन्त भएको आभास पाउँछन्।
सृष्टिको शोभायमान पुष्पहरु
सन्ध्याको स्पर्शले,
प्राप्त सितका थोपा पान गरी,
मन्त्र मुग्द हुँदै!
स्वप्निल संसारलाई आलिङ्गन गर्न पुग्दछन्।
जीवनयापनको लागि संघर्षरत,
समस्त प्राणी!
सन्ध्याको आगमन संगसंगै,
पुनः आफ्ना बासस्थान फर्किरहेछन।
प्रत्येक मन्दिर अनि घरहरूमा,
सन्ध्याकालीन शंख घन्ट गुन्जिरहेछन्।
सुगन्धित धूप अनि पुष्पको सुवासले!
सारा जगत मग्मगाइरहेछ।
भान हुन्छ,की यो स्वर्ग हो।
जहाँ न दिनको व्यस्तता,
न अधेरी रातको भय!
मात्र सन्ध्याको स्वर्णिम पल —!!!