कांग्रेस जिल्ला सभापतिहरुको अनशन तोडियो

everest kitchen

काठमाडौँ। विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्ने र त्रुटि भएको भए सच्याउनु पाउनुपर्नेलगायत माग राखेर जारी अनशन आज साँझ स्थगन भएको हो ।

जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता विवाद समाधानमा खटिनुभएका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखक सानेपा पुग्नुभएको थिए ।

पार्टीका संस्थापन इतर पक्षको समेत समर्थन रहेको उक्त अनशनमा पार्टीका सभापति शेरबहादुर देउवा जिल्ला सभापतिले राखेका मागप्रति सकारात्मक देखिएपछि अनशन स्थगन गरिएको कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जानकारी दिए ।

“जिल्ला सभापतिले राखेको तीनवटै मागप्रति नेतृत्व सकारात्मक देखिएको र समयमा महाधिवेशन गर्न इच्छुक देखिएकाले हामीले अनशन स्थगन गरेका हौँ”, उनले भने । जिल्ला सभापतिले राखेका माग र सहमतिमा अधिवेशन गराउनेबारे यसअघि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको थियो ।