लघुकथा – सौता रोक्ने छोरो
सरला शर्मा
छोरा-बुहारीको ब्यवहारले उनी क्षुब्ध थिइन्। तीनवटी छोरी भएपछि जन्मिएको छोरोको विशेष मायाँ छ उनलाई.! भेटमा भन्थिन् “सौता रोक्ने छोरो.! यसको ठाउँमा छोरी नै जन्मिएकोभए सौता हाल्ने पक्का थियो.!”
बुहारी जुरूक्क उठेर स्कुटी लिएर दुईसय मीटर टाढा हालसालै खोलेको ब्युटीपार्लर जान्छे । यो खोल्न जरूरी थिएन। ठुलो व्यापार जिम्मा लाएका थिए छोरालाई। ब्यापार धेरै राम्रो चलेको छ।उनिहरूको मनमा थियो बुहारी घरै बसोस्.! भित्र-बाहिर गरोस्.! खाना -खाजा बनाएर हामीलाई, बच्चाहरुलाई खुवाओस्.! बच्चाहरूलाई पढ़ाओस्.! तर अहँ.!
अरूले हेर्दा तीन तले कम्पाउण्डवाला घर, गाड़ी, काम गर्ने मान्छे.! यसो बाहिर निस्कँदा सबैले नमस्कार गर्ने ठुलो मान्छे, जतासुकै लगानी.! कमाइ नै कमाइ.!
बिहान उठ्नु, ढोका खोल्नु, पूजाभाँडा माँझ्नु , सरजाम ठिक्क पार्नु, पूजा गरेर चियापानी, केटाकेटीलाई खाजा.! खाना बनाएर स्कुलको तयारीलगायतका यावत कामहरू गर्नुपर्ने.!
एकदिन अचानक हाम्रो घरमा आइन् उनी र घ्वाप्प अँगालो हालेर धेरै बेर यी र यस्ता कुराहरू गर्दै रोइन्.! भन्छिन्-“ यस्तो नक्कली जीवन कतिन्जेल बाँच्ने बहिनी.! बुढा केही बोल्दैनन्.! काम जाबो त म कति गर्छु कति.! यो जाबो पनि काम हो र? तर घर रमाइलो भएन.!”
उनी अझ थप्छिन्- “छोरा बिहानै ब्यवशायमा जान्छ; बुहारी पनि बिहानै जान्छे.! खाना दुबैले बाहिरै खान्छन्.!कतिबेला आएर सुत्छन् केही थाहा हुँदैन..! मैले को खाइ को खाइ गरेर हुर्काएको छोरालाई मैले खाना पस्केर नदिएको धेरै बर्ष भयो.!
“ तिम्रो जीवन राम्रो र रमाइलो बहिनी.! बाँच्न पुग्ने कमाइ.! छोराहरू इलममा लागेका.! बुहारीहरू मिलेर बसेका.! कति आनन्द.!” यसरी उनी मसँग बसेर धेरैबेर रोइन्.! मैले संझाईबुझाई गरेँ.! चिया -खाजा सँगै खायौँ.! उनी फेरी बर्षिइन्-“ धेरै बर्षपछि अर्काले बनाएर दिएको चिया खाएँ बहिनी.! यो पनि एउटा रमाइलै कुरा रहेछ.!” उनी गइन्.! मनमा तरंग आयो.! के हो त जीवन? पैसा? सन्तान? कि हार्दिकता.!?