समितिले गृहमन्त्रीलाई बुझायो जयसिंह धामी तुईन मृत्यु घटनाको प्रतिवेदन

everest kitchen

काठमाडौ। दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ। समिति संयोजक रहेका सहसचिव जनार्दन गौतमले गृह मन्त्रालयमा एक महिना लगाएर तयार प्रतिवेदन बुझाए।

छानबिन प्रतिवेदनको विवरण भने सार्वजनिक गरिएको छैन। ०७८ साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट महाकालीमा खसेर बेपत्ता भएका थिए।

भारतीय भूमिमा घटना भएकाले नेपालले अनुसन्धान गर्न कानुनी जटिलता रहेको प्रतिवेदनमा उल्लेख रहेको बताइन्छ। गृह मन्त्रालय स्रोतले प्रतिवेदनको संक्षिप्त विवरण सार्वजनिक गरिने जानकारी दिएको छ।

तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बलले तुइन काटिदिएपछि’ बेपत्ता भएका थिए।

उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको समिति गठन गरेको थियो ।

गत साउन १७ गते गठित उक्त समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो । छानबिन नसकिएकाले मन्त्रालयले समितिको म्याद तीनपटक थप गरेको थियो । यसअघि गएको साउन २५ तथा भदौ १ र ८ गते समितिको म्याद थप गरिएको थियो ।

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी नदीमा बेपत्ता भएका थिए । पीडितपक्ष तथा स्थानीयवासीले भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएका कारण खसेको आरोप लगाएका छन् भने कतिपयले डोरी फुस्काइदिँदा नदीमा खसेको बताउँदै आएका छन् ।