मन्दिरमा पित्तलको छाना

everest kitchen

म्याग्दी। बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो ।

कूल रु ३१ लाख ५० हजार लागत अनुमान गरिएको पित्तलको छाना राख्ने योजनाका लागि कोषको आन्तरिक स्रोतबाट रु २७ लाखभन्दा बढी ब्यहोर्ने निर्णय भएको छ । यसअघि सिमेन्टको छानो वर्षेनी रङरोगन गरिँदै आएको थियो ।

मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन । उनका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गरेका थिए ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर यहाँको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।