लघुकथा – रोजाई
मन्दिरा चापागाईं
कान्छी छोरी अन्माएर चारधाम जाउँला, भनेको जस्तो माग्न आए नि मन पराईदिने होईन । अब त मास्टर्स पनि सकाईस् , सानो जागीर पनि छ , आमा भन्दै हुनुहुन्थ्यो ।
पारी बिद्यानन्दको छोरा दिवश बेलायत बाट बिध्याबारिधी गरेर आएका ,सम्पन्न, शिक्षित, बिबाह गरेर जाने रे, तिमिलाई माग्न पठाएछन् ।२८ बर्ष पुगिसक्यौ । समाजले पनि कुरा काट्छ्न ।
अब त जीवन साथी रोज्ने बेला घर्किन लाग्यो, बुबाले भन्नुभयो । प्रविधिको सदूपयोग गर्दै भाईबरमा जोड्यो दिवशले । परिवारको चाहनामा दिक्षाले पनि स्वीकृति जनाई !सामान्य परिचय आदानप्रदान भयो। अर्को दिन नागरिक दैनिकमा पठाउने नियमित बिचार स्तम्भको रुजु गर्दै थिई । दिवशको कल मिस्ड भएछ ।
आफ्नो काम सकाएर पाँच मिनेटपछि कल ब्याक गरि । आफ्नो ब्यस्तता सुनाई नसक्दै ठूलै लेखक पो हौ कि कसो? मिस सङ्ग बोल्न मेरो औकात पुगेन कि ? अपोइन्ट्मेन्ट लिनु पर्थ्यो कि ??भन्दै कटाक्ष गर्यो दिवशले उ झसङ्ग भई ।
अर्को बेलुका रेडियोले बिबिसी मा एमसिसी बहसबारे बजाउँदै थियो।जल्दोबल्दो विषय जाँचमा आउला टिपोट गर्दै थिई दिक्षा। दिवशको फोन आयो ।
दिनभरी तयारी गरेका कुरा सुनाउन आतुर थिई ऊ । तिमिले कमाउने अधिकृतको तलव म नै दिउँला। आईमाईले धेरै जान्ने बुझ्ने भै राख्नुपर्दैन भन्यो । हे भगवान ! यस्ता विद्वानको फेला परे कसरी जीवन काट्ने होला? सुन ओढेर चादिमै सुते नि आनन्दको निद्रा निदाउन सकिएला र ?? सोचमग्न भई ।
भोलिपल्ट होस्टेल बसेर अध्ययन गर्दै गरेको उसको सहयोगी साथी दीवाकर लाई आफ्नो र दिबश बिचको कुराकानी ,बाबुआमाको कचकच सुनाएर मन हलुका पार्न भनेर गई ।
ऊ उसका लेख रचनाका कटिङ्ग गरेर राखेको सङ्ग्रह पढ्दै रहेछ।कसरी यस्ता सन्देशमुलक रचना गर्छ्यौ दिक्षा ? यति धेरै जानकारी, ज्ञान, कसरि प्राप्त हुन्छ तिमिलाई?भोगाई, भावना र चाहना त मेरा पनि नभएका होइनन् , लेख्न भनेर धेरै पटक कलम नसमाएको पनि होईन तर मेसो नै आएन । जागीर पनि गर्दैछयौ ,अझ लोक सेवाको तयारी पनि,समय कसरी निकाल्छ्यौ? तिम्रो लगाव,जागर मेहनत देखेर म त आफैं देखि लज्जित छु दीक्षा ।
एउटा आफूभन्दा विद्वान र हुनेवाला जिवनसाथी पुरुष अहँता र पुरुषत्व प्रकट गरिरहेको थियो। अर्को जुनियर साथी आत्मालोचना र मेरो तारीफ गरिरहेको थियो। ऊ अन्योलमा थिई। जीवनसाथीको रुपमा दिवश रोजौं कि दिवाकर???