लघुकथा – माया
गुणराज अधिकारी
छान्गो रागे पहरामा गाईको बाच्छो अल्झीएको खवर सुनियो । गाईको बाच्छो कराएको सुनेर सबै गाउँले पहरा माथि जम्मा भए। कसैको आँट थिएन। एक जना बुवाले भन्नुभयो ,ल डोरो लगाएर एक जना तल गएर बाच्छोलाई बाँधेर ल्याउनु पर्यो कोही माथिबाट डोरो तान्नु पर्यो। लौ गुडे, तिमी नै जाउ। यहाँ दुई जनाले डोरी तान्छन् । तिमी कम्भरमा बाँधेर झर । ”
” कसले तान्ने डोरो ठुलाबा ? जब सम्म मेरो भाई आउँदैन तब सम्म म झर्दिन ” “के भन्छ गुडे? यहाँ हामी यत्रा छम। ए ल ऊ भन्दाभन्दै काले पनि आएछ। आईजा त समाई तेरो दाई तँ नभई जान मानेन ।
” सबैले राम्रोसँग समाउनु है भन्दै म गएँ । आधा भागमा म के झरेको थिएँ , मेरो खुट्टाले अरिङगलको पोलोलाई छोईएछ। अरिङ्गाल पुरै उडेर माथि गयो। डोरी समातेका सबैले छाडेर भागाभाग गरे। मभने तल गएर अड्किएँ ।
एकजनाले चाहिँ छोडेको रहेनछ । म बाच्छोलाई बाँधेर माथि पुग्दा निलडाम उसको अनुहार थियो । अरु सबै पाखा लागेर बसेका रहेछन् । उसको हालत देख्दा मेरो आँखाबाट आसु झर्यो । अनि ठुलाबालाई भनेँ ” देख्नुभो नि ! त्यही भएर डोरी समाउन मेरो भाई चाहिन्छ भनेको !