दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत गर्न अर्थमन्त्रीको निर्देशन

everest kitchen

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विभिन्न सीपमूलक तालिमहरूलाई एकीकृत ढंगले सञ्चालन गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आइतबार आयोजित छलफलमा अर्थमन्त्री शर्माले दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत रुपले संचालन गर्ने गरी नीतिगत तयारी गर्न निर्देशन दिएका हुन् ।

‘एकै प्रकृतिका कार्यक्रमहरू धेरै निकायबाट भइरहेको छ, यसरी काममा प्रभावकारिता आउँदैन, तिनलाई केन्द्रीकृत गर्नेगरी तयारी गर्नुस्’ शर्माले भने, ‘हरेक वर्ष एउटै व्यक्तिलाई एकै प्रकृतिको तालिम मात्र दिइरहन तर उक्त व्यक्ति स्वरोजगार भएको नदेखिने समस्या छ, यसलाई अन्त्य गर्नुपर्छ ।’

साथै, तालिम लिएको व्यक्ति स्वरोजगार हुने वा रोजगारीमा लाग्नसक्ने खालको तालिम संचालन गर्नुपर्नेमा अर्थमन्त्री शर्माले जोड दिए । ‘हामीले गर्दै आएको वृक्षारोपण र तालिम उस्तै–उस्तै भयो, खासै परिणाममुखी भएनन् । अब यसलाई सच्याउने गरी नीति तथा कार्यक्रम बनाउनुपर्छ ।’ सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर एकीकृत सीपमूलक तालिम कार्यक्रम तय गर्न अर्थमन्त्रीले जोड दिए ।