इन्स महिला समितिद्वारा ‘तीज विषयक सांस्कृतिक बहस’ कार्यक्रम सम्पन्न

everest kitchen

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आयोजना गरेको ‘तीज विषयक सांस्कृतिक बहस’ कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार भर्चुअल रुपमा आयोजना गरिएको कार्यक्रममा वक्ताको रुपमा प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. सावित्री मल्ल कक्षपती र सह. प्रा. ज्ञानु अधिकारी रहेका थिए ।
कार्यक्रममा प्रा.डा. विद्यानाथ कोइरालाले, तीजको शास्त्रीय र वैज्ञानीक महत्वको चर्चा गर्दै उर्जा प्राप्त गर्ने अनेकौं साधना मध्ये एक माध्यम तीज पनि रहको कुरा ब्याख्या गरेका थिए ।

त्यसैगरी संस्कृतिविद्समेत रहनु भएकी प्रा.डा .सावित्री कक्षपतीले , तीज हिन्दुहरूको मात्र नभएर समग्र नेपाली महिलाहरूको चाड हो भन्दै तीजका गीतले महिला सशक्तीकरण र सामाजिक रुपान्तरणको आवाज उठाउनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा अर्का वक्ता सह.प्रा. ज्ञानु अधिकारीले तमाम बिकृतिहरूलाई हटाउदै तीजलाई सांस्कृतिक पर्वको रुपमा मनाउनु पर्ने बताए ।कार्यक्रममा रक्षा नेपालका छोरीहरूले तीज विशेष सांस्कृतिक गीत-नृत्य प्रस्तुत गर्नु भएको थियो भने सोम अनुराग बस्नेत, डा. महालक्ष्मी अधिकारी, नमिता दवाडी र बिन्दा पराजुलीलगायतले कविता तथा गजल वाचन गरेका थिए ।

कार्यक्रमको सभाध्यक्ष तथा समितिका अध्यक्ष डा. रेणुका सोलुले, यो पितृसत्तात्मक समाजमा पुरूषहरू महिलामैत्री हुनु भनेको मानवमैत्री हुनु हो । त्यसैले महिला र पुरुषको समानताले मात्र समुन्नत समाज निर्माण हुने विचार व्यक्त गरिन भने कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति धन्यबाद ज्ञापन गर्दै रक्षा नेपालका छोरीहरूको सांगितिक प्रस्तुतिको उच्च प्रशंसा गरेकी थिईन। साथै उनले प्रोत्साहन स्वरुप इन्समार्फत बीस हजार रुपैंया सहयोग प्रदान गर्ने बताईन ।

संसारभरबाट बाक्लो उपस्थिति रहेको कार्यक्रमको संचालन समितिका महासचिव सुभद्रा भन्डारीले गरेका थिए । सचिव लिली अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।त्यसैगरी इन्स भाषा साहित्य समिति अध्यक्ष डा जानुका नेपाल पौडेल र अन्तर्राष्ट्रिय समिति महिला उपाध्यक्ष नीतु खतिवडाले शुभकामना मन्तव्य राखेका थिए ।

संसारभरका नेपालीलाई आपसमा जोड्दै नेपाल र नेपालीको हित र विकासमा काम गर्ने उद्देश्यका साथ गठित इन्सले नेपाली भाषा-साहित्य, संस्कृति, महिला अधिकार लगायतका बिषयमा निरन्तररुपमा विभिन्न सेमिनार तथा सम्मेलनहरू गर्दै आएको छ ।