लघुकथाः ओखती
मित्र उराठी गौतम
‘एउटा घर पनि बनाउन सकिएन ।सँगैका साथीहरुले कति प्रगति गरिसके ? आफ्नो भने सधै डेराको बास ।अब त खर्च पनि कसरी चलाउने ? महङ्गिले आकास छोएको छ।’ यस्तै यस्तै कुरा गर्दै सधै तनावमा हुन्थ्यो पुतलीको लोग्ने ।
सधै कार्यालयबाट फर्कँदा निन्याउरो हुन्थ्यो अनुहार ।आज भने उज्यालो अनुहार लिएर घर भित्रियो ऊ ।अझ छोराछोरीलाई चक्लेट पनि लिएर आएको छ ।पुतलीले भान्सा तयार गरुन्जेल छोरो खेलाएर बसीरह्यो ।छोरीको गृहकार्य लेख्न पनि सघायो ।खाना खाँदा पनि सधै एउटा न एउटा दोष लगाउँथ्यो आज मिठो मुखले खायो ।
लोग्नेको अनयासै बदलिएको व्यवहारले पुतली छक्क परेकी थिई । ‘आज कसको सङ्गतले यो परिवर्तन ल्याइदियो ? सधै यस्तै भैदिए त कति सन्तोष हुने थियो ।छोराछोरीलाई पनि कति माया गरेका आज त ।खास रहस्य के हो ? सुत्ने बेला फुर्सदले कुरा वुझ्नु पर्ला ।’ – मनमनै बिचारी पुतलीले
सयन कक्षमा जब लोग्नेले अङ्गालो हाल्यो, ह्वास्स गन्ध आयो । ‘तनाव हटाउने ओखती यो पो रहेछ ?’ – पुतलीले रहस्य पत्तो पाई । (अमरपुर –गुल्मी ,हालः बुटवल)