कर्णालीमा मन्त्री–सचिवबीच कार्यसम्पादन सम्झौता

everest kitchen

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सोही मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ ।

चालु आर्थिक वर्ष २०७८–७९ मा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी आज मन्त्रालयमा मन्त्री–सचिवबीच उक्त सम्झौता भएको हो ।

मन्त्री बुढा क्षेत्रीले परिणाममुखी नतिजा आउने गरी पारदर्शी रूपले कार्यसम्पादन गर्न सचिवलगायत मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिए । कार्यसम्पादन सम्झौतापछि सचिव काप्रीले मन्त्रीसमक्ष फाइल हस्तान्तरण गरे । सचिवले पनि मन्त्रालय मातहतका महाशाखा प्रमुखहरुसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।

असार महिनामा अत्यधिक बजेट खर्च हुने प्रवृत्तिलाई रोक्न समयमै योजना कार्यान्वयनमा ल्याउन मन्त्रालयको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच प्रभावकारी समन्वय हुनुपर्ने मन्त्री बुढाक्षेत्रीको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारले गत वर्ष पनि मुख्यमन्त्री र विभागीय मन्त्रीहरूबीच तथा मन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता गरेको थियो । कम्तीमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने सम्झौता भए पनि प्रदेश सरकारले ६७ प्रतिशत मात्रै बजेट खर्च गरेको थियो ।

प्रदेश सरकारले अध्यादेशमार्फत चालु आर्थिक वर्षका लागि रु ३६ अर्बभन्दा बढीको बजेट ल्याएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असार महिना नलाग्दै सबै योजना सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि यतिबेला मन्त्रालयहरू कार्यसम्पादन सम्झौता गर्दैछन् ।