राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ : अध्यक्ष दाहाल

everest kitchen

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएका छन ।

एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उनले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालसँग शिष्टाचार भेटका लागि एमसिसीका उपाध्यक्ष फतिमा सुमार आज बिहान उनको निवास खुमलटार पुगेकी थिईन ।

अध्यक्ष दाहालले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा आफूहरु स्पष्ट रहेको बताएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । “नेपालका राजनीतिक दलबीचको सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउनुपर्छ भन्नेमा हामी एकमत छौँ”, अध्यक्ष दाहालले भने ।

आफूहरुको पाँच दलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने पक्षमा रहेको उनको भनाइ थियो । सो अवसरमा उपाध्यक्ष फतिमाले नेपालका राजनीतिक दलबीचमा अन्तक्र्रिया गर्न आफू नेपाल आएको बताएकी थिईन । उनले नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेको उल्लेख गरे ।

आयोजनाको उपादेयताका बारेमा जानकारी दिँदै उपाध्यक्ष फतिमाले पारदर्शीपूर्ण छलफलका आधारमा मात्रै अगाडि बढ्न सजिलो हुने बताईन । उनले आफूहरु कुनै पनि दबाब दिने उद्देश्यले नआएकाले यसलाई नियमित भ्रमण भएको बताएको जनाइएको छ ।

सो अवसरमा उपाध्यक्ष फतिमाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यलाभको समेत कामना गरेकी थिईन । बिहीबार नेपाल आएकी उपाध्यक्ष फतिमाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरि सकेकी छन । एमसिसीका बारेमा परस्परविरोधी मत रहेका बेला आयोजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ फतिमा नेपाल आइपुगेकी हुन ।