संखुवासभा घटना: आरोपित सार्वजनिक, लखेटेर दाउराले बालक बालिकालाई हिर्काए

everest kitchen

संखुवासभा । संखुवासभामा ६ जनाको ह त्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ।
मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको ह त्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

मृतक ५७ वर्षीय तेजबहादुर कार्कीका बढाबाका नाति अर्थात नाताले भतिज पर्ने लोक बहादुरले दाउराको प्रयोग गरी ती ६ जनालाई मारेको खुलेको छ । तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमालाई लोक बहादुरले दाउराले प्रहार गरी मारेको प्रहरीले जनाएको छ ।

घटना घटेको दिन नै सबैभन्दा पहिला घटना बारे जानकारी दिने व्यक्तिको रुपमा अगाडि आएका उनी पत्रकार तथा स्थानीयसंग सामान्य तरिकाले बोल्दै आएका थिए । यद्यपि प्रहरीले उनलाई सुरु देखि नै निगरानीमा राखेपनि घटना उनलेे नै घटाएको भन्ने बारे यकिन गर्न सकेको थिएन ।

प्रहरीले घटनामा संलग्न भाग्न नपाओस भनेर जिल्ला नै ‘सिल’ गरेर अनुसन्धान थाले पनि त्यस्तो शंकास्पद मानिस नभेटेपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो।

लोकबहादुरसंग सोधपुछकै क्रममा उनको घरमा घटनामा प्रयोग भएको लुगा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई बयान लिएको थियो । बयमनको क्रममा उनले आफुले न‌ घटना घटाएको स्वीकार गरेका छन् ।

तेजबहादुर र लोकबहादुरको घर डेढ सय मिटरमा दुरीमा पर्छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोमबार उज्यालो भइसकेको थियो, साढे ५ देखि ६ बजेको समय। यकिन गरिनसकिएको यो समयमा लोकबहादुर आँगनमा निस्केका थिए। उनका बुवा र भाइ घाँस काट्न बिहानै बारीतिर निस्केका थिए। घरमा एक्लै रहेका बेला उनले तेजबहादुर उकालो लागिरहेको देखेका थिए।

तेजबहादुर खेताला खोज्न भन्दै घरबाट निस्केका थिए। तेजबहादुरलाई देख्नेवित्तिकै ‘झोंक’ चलेको लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरले आफूलाई पहिला गालीगलौज गरेको लोकबहादुर सम्झिएको बताएका छन्।

त्यसपछि आँगनबाट दाउरो टिपेर उनी तेजबहादुरलाई हिर्काउन अगाडि बढेको बताएका छन्। डिल उक्लिँदै गरेका तेजबहादुरलाई पछाडिबाट टाउकोमा प्रहार गरेको बताएका छन्। यसरी प्रहार गर्दा तेजबहादुर ढलेपछि उनकी श्रीमती कराउँदै आएकी थिइन्।

तेजबहादुरकी श्रीमती कराउँदै आएपछि उनलाई पनि हिर्काएको र सासु ढलेको देखेपछि बुहारी अगाडि बढ्दा उनलाई पनि हिर्काएको लोकबहादुरले बताएका छन्।

‘दुई नातिनातिना दौडादौड गर्दैगर्दा उनीहरूलाई लेखेटी-लखेटी दाउराले हिर्काएको उनले प्रहरी समक्ष बताएका छन । त्यसपछि भने घरम‌ै पुगेर कुँडो पकाउन आगो फुकिरहेकी ८४ वर्षीया पार्वताको ज्यान लिएको खुलेको प्रहरीले उल्लेख गरेको छ ।

तेजबहादुरका बुवा ९० वर्षीय वृद्ध बौद्धमान कार्कीले घटना बारे थाहा नपाएपछि उनलाई भने त्यति छोडिएको लोक बहादुरले प्रहरीलाई बताएका छन । बौद्धमानले राम्रोसँग आँखा देख्न कान सुन्न सक्दैनन् ।

घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो।