प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि अर्को आन्दोलन आवश्यक पर्नसक्छ – नेता पुन

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले माओवादीले देखेको आर्दश समाज अझै स्थापना हुन नसकेको बताएका छन् ।

माओवादी जनयुद्ध र त्यसपछिको जनआन्दोलनको बलमा अहिलेका उपलव्धीहरु संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षता जस्ता उपलव्धी हाँसिल भएपनि ती पूर्ण नभएको उनले बताए ।

देशलाई समय सापेक्ष रुपमा प्रगतिको बाटोमा, बैज्ञानिक समाजवादको बाटोमा अघि बढाउनका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक हुने बताए । माओवादीले संविधानमा लेख्न खोजेको तर तत्कालिन शक्ति सन्तुलनका कारण अन्य दलले नमानेकाले ती विषय संविधानमा छुटेको नेता पुनले बताए ।

देशलाई आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक हिसावले बैज्ञानिक समाजवादको बाटोमा अघि बढाउँदा फेरी एक पटक प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने नेता पुनले बताए ।

अखिल क्रान्तिकारीको पुर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समितिको छैठौ जिल्ला सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका नेता पुनले हरेक नागरिकले योग्यता अनुसारको काम र काम अनुसारको माम पाउने बैज्ञानिक समाजवादको आधार तयार गर्न युवा विद्यार्थी जागरुक हुनु पर्नेमा जोड दिए ।

‘हरेकले योग्यता अनुसारको काम पाउने समाजवादी आधार तयार गर्नुछ। बैज्ञानिक समाजवाद, प्रतिस्पर्धा र जनताबाट निर्वाचित हुने कुरा गरिएको छ। यसलाई समय अनुसार परिमार्जन गर्दै जानु पर्दछ। हामीले संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निवाचन प्रणाली भनेका छौं । त्यसका लागि फेरि नयाँ आन्दोलन आवश्यक पर्न सक्छ। त्यसैले हामिले क्रान्किारी हुैंदै समाजमा सुधारका काम गर्नुछ” उनले भने ।

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष युवा नेता रमेश मल्लले अखिल क्रान्तिकारीको क्रान्तिकारी छवि कायम राख्न आग्रह गरे । विगतमा पञ्चायत, राजतन्त्र र निरंकुशता विरुद्ध ससक्त आन्दोलन गरेर स्थापित भएको संगठन अहिले युवाहरुको काँधमा आएकाले त्यो जिम्मेवारी अहिलेका युवाहरुले पूरा गर्नुपर्ने बताए ।

समाज सुधारका लागि, क्रान्तिकारी रुपान्तरण र जनताका पक्षमा शासकहरुलाई लागिरहन दवाव दिन क्रान्तिकारी विद्यार्थीहरु सधैं चनाखो हुनुपर्ने उनले बताए । अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले अन्य विद्यार्थीहरुले नेपाली विद्याथीहरुको हित र समाज सुधारका दुवै जिम्मेवारी पूरा नगर्ने भएकाले सवै युवा विद्यार्थीहरुलाई अखिल क्रान्तिकारीको झण्डामुनि गोलवन्द हुन आव्हान गरे ।

विगतमा नेकपा एमालेको अनेरास्ववियुले पनि परिवर्तनका एजेण्डा बोक्छ कि भनेर आफूहरुले एकता गरेको भएपनि उनिहरु सत्ताको छायाँमा परेको, प्रतिगमनको एजेण्डा बोकेको र प्रतिगामी शक्तिलाई मात्रै साथ दिएकाले अखिल क्रान्तिकारी त्यसरी अघि बढ्न नसक्ने बताए । राष्ट्रका सामू आएका प्रतिगामी छायाँहरुलाई परास्त गर्न र देशको शिक्षा स्वास्थ्य, रोजगारीका मौलिक अधिकारहरु कार्यान्वयन गराउन सवै युवा विद्यार्थीहरु क्रान्तिकारी अभियानमा लाग्नुपर्ने उनले बताएका छन् ।

अखिल क्रान्तिकारीले आउँदो असोज ८, ९ , १० गते काठमाडौंमा २२औं राष्ट्रिय सम्मेलन गर्न देशभर संगठनात्मक अभियान चलाएको छ । सोही सन्दर्भमा पुर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समितिको छैठौ जिल्ला सम्मेलन आयोजना भएको हो । यसले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ । समाचार दैनिक