लघुकथा – माखो
शान्ता शाक्य
“ हेलो , दाइ सुनिराख्नु भएको त छ है ! मेरो कुरा सकिए पछि मात्र जवाफ दिनुहोला । सहरमा पढ्न जाने बेलामा तपाईँले सबैका सामु एउटा वाचा गर्नुभएको थियो ।बिर्सनुभएको त छैन होला ।
पढाइ सकेपछि गाउँमै फर्कन्छु । गाउँकै स्कुलमा पढाउँछु भन्नुभएको थियो । घर र गाउँको हाल ठीक छैन । खेत साहुकहाँ बन्धक छ ।बिरामी आमाको स्याहार गर्दागर्दै मैले दश कक्षाभन्दा अगाडि पढ्न पाएकी छैन ।तपाईँ आउनुभयो भने म आफ्नो पढाइ अगाडि बढाउने छु ।तपाईँ पढाइ सकेपछि गाउँमै फर्कने कुरामा गाउँलेहरू पनि ढुक्क छन् ।दाइ तपाईँ कहिले फर्कनुहुन्छ ? हामी सबै उत्साहित भएर पर्खिबसेका छौँ है !
एकछिन पछि जवाफ आयो – “ बहिनी , मलाई त सहरको हावापानी नै फाप्ला जस्तो छ । गाउँ फर्केर पनि के गर्ने खोइ ? राम्रो काम भेट्टाए यतै बस्ने सोंच छ ! “ दाइको कुरा छुरा भएर मनमा च्वास्स घोंच्यो । रिसाएर जवाफ दिएँ “ हे भगवान् !! मेरो दाइ त महको माखो पो बनिसकेको रहेछ !!”