लघुकथा – बाल दिबस
सीता बराल भण्डारी
भाद्र २९ गते , आज बालदिबस ! सधै झैं आज पनि ठिक ९.३०मा स्कुल हिडें म । अघि पछि झोलाभित्र टन्न किताब हुन्थ्यो तर आज रित्तै ! झोला नै भिर्नु परेन ।
सबैजना लाइनमा उभियौं, सधैं झै चौरमा पिटि खेलेर कक्षा कोठामा नगइकन हामी विद्यालय प्रांगण भन्दा बाहिर जाने तयारिमा बस्यौं । हामी मध्ये धेरै जसोको हातमा प्लेकार्ड अनि ब्यानरहरु थियो जसमा लेखिएको थियो , बाल दिवस जिन्दावाद , हाम्रो देश हाम्रो भेष हामीलाई प्यारो छ लगायतका नारा लगाउँदै हामी बालमन्दिर हातामा पुग्यौं !
त्यहाँ पुगेपछी ठुला ठुला मान्छेको भाषण सुन्यौं। बालबालिकाका हक हितका बिषयमा ! त्यहाँं आशिन भद्र भलाद्मी मध्ये एकजना मोटा खाइलाग्दा ब्यक्ती जसको भाषण यस्तो थियो :
” आजका यिनै स-साना विद्यार्थी भोलि यो देशका कर्णधार हुन् , यिनिहरुलाई राम्रो शिक्षा दीक्षा दिएर , यिनीहरुको भविष्य सुन्दर बनाउनुपर्छ, भोकमा भोजन र शितल छहारिको बन्दोबस्त गर्नुपर्छ। ” सुन्दा लाग्यो हामीलाई सबै खाले सुबिधाको जिम्मा उनैले लिएका थिए ।खाने बस्ने अनि पिउने पानीको पनि !
टन्टलापुर घाममा भोकै प्यासै त्यो भाषण सुन्न हामी बिद्यार्थी सबैलाइ सार्है गार्हो भयो । तिनिहरुको भाषण सुन्ने केही दर्जन शिक्षक र हामी स्कुले विद्यार्थी मात्रै भयौं । नाचगान पनि हेर्यौं । बेजोडले भोक लागेको थियो। सुका , मोहर, रुपियाँ जे हुन्थ्यो त्यसले पुस्टकारी , भुजिया , बिस्कुट किनेर खायौं । नहुनेले त्यहिँको सार्बजनिक धाराको पानी टन्न पिएर साथीहरुसँग गफ गर्दै घर आयौं ।
सायद त्यही एक दिन थियो हामीलाई बाल दिवस ! न त पढ्नुको चिन्ता , न त गृहकार्यको चिन्ता ! त्यसपछि वालदिवस स्मृतिको पाना मै र भाषण गर्नेको भाषण मै सिमित रह्यो ।