लघुकथा – सम्बन्ध
उमेश कार्की
दशैंमा, टीकाकोदिन, टीका थाप्न जानु र टीका लगाइ दिनु बाहेक उनिहरुको संबन्ध सधैं तिक्ततापूर्ण ! उनिहरु ! अर्थात कुलानन्द( दाजु) र कुल प्रसाद( भाइ) ।आफ्नै सहोदर !
हिउँदको दिन । गाउँभरिका फुर्सदिला बुढाहरु ! पारिलो ठाउँमा बसेर तास खेल्ने दैनिकी ।कहिलेकाही बुढाहरुको अड्डामा युवाहरु नि मिसिन पुग्थे।
दाजु र भाइको सम्बन्धका बारेमा अरु बुढाहरु सबैलाइ थाहा थियो। कुनै दिन संगै खेल्नु पर्दा हिसाब किताब अरुले नै मिलाइ दिएपनी बिच बिचमा घोचपेच र नोकजोक परिरहन्थ्यो । अरु हाँस्थे।
सदा झै आज पनि बुढाहरुको दैनिकी शुरु । ” खै म पनि खेल्छु।” एउटा युवा जोशिएर आयो। “होस होस हामी बुढाहरु मात्रै ठिक छ।” कुलानन्दले असहमति जनाए।
“के ! मैले चै खेल्न नपाउने?? ” युवा निहुँ पो खोज्न थाल्यो। ” अनि हामिले हामी मात्रै खेल्छौं भन्न नपाउने?” कुलानन्दले नि ठुलो स्वरमा जवाफ फर्काए।
अलिअलि गर्दै झगडै पो पर्ला जस्तो।अरु बुढाहरुले त्यो युवालाइ सँझाउदै भने-” तँ आज अलिअलि मालपानी लाएर आको छस क्यार…. भोलि खेल्लास न त ।” अहँ ! त्यो त -” यो फलानो बुढो ” अश्लील भाषामा गाली गर्दै कुटौंला झै पो गर्न थाल्यो।
छेउमा नबोली बसेका कुल प्रसाद लाई के जङ्ग चल्यो कुन्नी घुमाएर एक थप्पड बजाइ दिए युवाको गालामा र बोले ” तैंले कस्लाइ हेपेको ?”
केटो लुरुक्क ! एकबचन नबोली उठेर बाटो ततायो। ” आज नखेलुम भो” भन्दै बुढाहरु आ आफ्नो बाटो लागे । कुलानन्दले भाइलाइ संकेत गर्दै भने- ” यतैबाट हिड् ! भाउजुले चिया बनाउँछे खाएर जा !!! “