कृष्ण उप्रेती
काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६ सेप्टेम्बरको दिनलाई अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । घोषणासँगै सन् २०१४ बाट हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
सार्वजनिक जागरूकता बढाउन र परमाणु निःसस्त्रीकरणको सवालमा राष्ट्र संघले गरेका प्रयासको श्रृंखलामा यसलाई एउटा नयाँ आरम्भको रुपमा लिने गरिएको छ ।
परमाणु हतियारको पूर्ण उन्मूलन गर्न आवश्यकताका बारेमा आमजनमानसलाई जागरूक पार्दै यसले मानव जातीमा पार्ने असरको बारेमा सबैलाई जानकारी दिनु नै अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवसको मुख्य उद्देश्य हो ।
सन् १९४६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले संसारबाट परमाणु हतियार निर्मूल पार्न संकल्प लिएसँगै सन् १९५९ मा भएको संयुक्त राष्ट्र संघको साधारण सभाले सामान्य र पूर्ण निःसस्त्रीकरणको उद्देश्यलाई समेत पूर्ण रुपमा समर्थन गरेको थियो । राष्ट्र संघको निर्णयसँगै अमेरिकाले पनि आफ्नो परमाणु ऊर्जा आयोगलाई सन् १९५२ मा भंग गरेको थियो ।
राष्ट्रसंघको उद्देश्य र लक्ष्य अनुसार सबै सदस्य राष्ट्रहरू परमाणु हतियारको विपक्षमा उभिने गरेका छन् । यद्यपि संसारभर अहिले तीन हजार ७ सय ५० सक्रिय परमाणु हतियार तैनाथी अवस्थामा छन् । संसारभर हाल करीब १४ हजार परमाणु हतियार रहेका छन् ।
सबैभन्दा बढी रसियासँग ६ हजार ३ सय ७५ परमाणु हतियार रहेको अनुमान गरिएको छ जसमा एक हजार ६ सय परमाणु हतियार तैनाथी अवस्थामा छ ।
परमाणु हतियार भएको देशको सूचीमा अमेरिका दोस्रो स्थानमा छ । अमेरिकासँग कूल पाँच हजार ८ सय परमाणु हतियार छ । एक हजार ७ सय परमाणु हतियार अमेरिकाले तैनाथ गरेको छ ।
यो सँगै बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया, इजरायलसँग पनि परमाणु हतियार छ ।
अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाउनुपूर्व सन् २००९ मा नै राष्ट्रसंघको महासभाले एक विशेष निर्णय गर्दै हरेक वर्ष अगस्ट २९ का दिनलाई आणविक परीक्षण विरुद्धको अन्तर्राष्ट्रिय दिवससमेत घोषणा गरेको थियो ।
विश्वव्यापी परमाणु निःसस्त्रीकरण हाँसिल गर्नु संयुक्त राष्ट्र संघको सबैभन्दा पुरानो लक्ष्य पनि हो । परमाणु ऊर्जा को नियन्त्रण र परमाणु हतियारका साथै सामूहिक विनाशका लागि अनुकूल अन्य सबै प्रमुख हतियारको उन्मूलन गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको सन् १९४६ को महासभाले परमाणु ऊर्जा आयोग (जुन सन् १९५२ मा भंग भएको भइसकेको) को स्थापनासमेत गरेको थियो ।
सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकी सहरमा अमेरिकाले परमाणु बम खसाएको थियो । जसबाट दुवै सहर नष्ट भएका थिए । साथै दुई लाख १३ हजारको तत्काल मृत्यु भएको थियो । इतिहासमा युद्धका निम्ति परमाणु हतियारको प्रयोग भएको यो नै पहिलो घटनासमेत थियो । न्युज कारखाना