सगरमाथा आधार शिविरमा फेसन शो

everest kitchen

डी.बी. खालिङ
सोलुखुम्बू, १० असो। सर्वाधिक उचाइमा आयोजना गरिने फेसन सोका रूपमा विश्व कीर्तिमान राखेको माउन्ट एभरेस्ट फेसन रनवेको दोस्रो संस्करण सगरमाथा आधार शिविरमा सम्पन्न भएको छ ।

विभिन्न १० वटा मुलुकबाट आएका सुपरमोडलसहित इटालीका राजकुमार कोसिमो दे मेडिसीले नेपाली डिजाइन लगाएरै र्‍याम्प नापे । कासा डिजाइन र बुद्धिस्ट लाइनका डिजाइन लगाएर इटालेली प्रिन्सले नेपाली डिजाइनलाई प्रवर्द्धन गर्ने प्रयास गरे ।

पाँच हजार ५०० मिटर उचाइमा आयोजना गरिएको हिउँले भरिएको र्‍याम्पको पृष्ठभूमिमा सर्वोच्च शिखर सगरमाथाको आकर्षक दृश्यावलोकन गर्न सकिन्थ्यो । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका पंकज गुप्ता, रमिला नेमकुल र रिकेन महर्जनले फेसन सोको आयोजना गरेका हुन् ।

संसारका कीर्तिमानीहरूको सूची राख्ने गिनिज पुस्तकले पृथ्वीकै अग्लो स्थानमा आयोजना गरिने फेसन सोका रूपमा माउन्ट एभरेस्ट फेसन रनवेलाई केही वर्षअघि सूचीकृत गरेको छ ।

उक्त रनवेमा फेसन डिजाइनर रमिला नेमकुल र कासाले दिगो फेसनमा आधारित लाइन सार्वजनिक गरेका थिए । नेपाल पर्यटन बोर्डद्वारा प्रवर्द्धन गरिएको सोमा कासाले बुद्धिस्ट फेसन लाइन पनि लन्च गरेको थियो । भगवान् गौतम बुद्धको दार्शनिक सूत्र अहिंसा परमो धर्मबाट उक्त लाइन प्रभावित रहेको जनाइएको छ ।

दुई वर्ष लामो अध्ययनपछि प्राप्त फेब्रिक र २१ वटा देशको छाता संस्था सेरिकल्चर अर्गनाइजेसनको सहकार्यमा रमिलाले बुद्धिस्ट फेसन लाइन सार्वजनिक गरेकी हुन् । आरबी डायमन्ड ज्वेलरीका रिकेन महर्जनले ताज डिजाइन गरेका थिए । नेपाली ढुंगा क्यानाइट प्रयोगमार्फत हिमालयलाई उतार्ने किसिमले उनले क्राउन डिजाइन गरेको जनाइएको छ । रनवेमा प्रयोग गरिएका एस्सेसरिज वातावरणमैत्री र दिगो फेसनमा आधारित रहेको जनाइएको छ ।

महामारीपछि पहिलो पटक आयोजना गरिएको यस्तो खालको कार्यक्रमलाई सगरमाथा आधार क्षेत्रका शेर्पा समुदायले पनि स्वागत गरेका छन् । आरोही कान्छा शेर्पाले यस्ता खाले कार्यक्रमले खुम्बू क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने बताए ।

गोक्यो हिमनदीको छेउमा आयोजना गरिएको फेसन सो हेर्न ४७ जनाको समूह त्यहाँ उपस्थित थिए । आगामी १ नोभेम्बरदेखि स्कटल्यान्डको ग्लास्गोमा सुरु हुने राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २६)मा पनि हिमालय क्षेत्रमा जलवायुको असर र प्रभावबारे मुद्दा उठान हुँदै छ ।

यसै वर्ष नेपाल आएका कोप २६ का अध्यक्ष आलोक शर्माले पनि हिमालय क्षेत्रको दिगो विकास र जलवायु परिवर्तनको असरबारे चासो राखेका थिए ।/न्युज कारखान