लघुकथा -अपजस
कल्पना अधिकारी भण्डारी
कति गिलो भात !कसरी खानु ?रिसाएको भावमा ससुरा बुवा बोल्नु भो! “हजुरलाई गला लाग्छ भनेर नरम पारेको बुवा !”
डराई डराई सानो स्वरमा बोलेँ , अझै झर्किंदै बुवा कड्किनु भयो -“हिजो साह्रो न साह्रो। आज यस्तो गिलो?” मन भरिएर आयो। केही बोलिनँ , मनमनै सोचेँ । आज तीस वर्ष भयो यो घरमा भान्छे बनेको तर कुनैदिन
मीठो भयो भन्ने शब्द आएन ससुरा बुवाको मुखबाट !
उ बेला आफ्नै खुट्टामा उभिन सक्ने क्षमतावान हुँदाहुँदै पनि बुवालाई पकाएर समयमा खुवाउनुपर्छ भन्ने आदर्श भावनाले धेरै अवसरहरु गुमाएर पिँजडाको सुगा बनिरहेँ।बाबू आमा दुबै आफैं बनेर टुहुरा छोरा हुर्काएका बुढा बुवालाई एक्लै छोडेर कतै हिड्न सकिनँ । पायक पर्ने ठाउमा रोजगार पाइएन। घर छोड्न बुवाले मान्नु भएन । जेठानीले झैं एक्लै छोडेर हिँड्न मेरो आत्माले दिएन!
घरको चौघेरोलाई संसार मानेर झेलखानाको कैदी जस्तै
जीवन बिताएँ । गाउँलेहरू भन्ने गर्छन् तिमीलाई धर्म गर्न कहि जानू पर्दैन। एक्लै पकाएर खानुपर्दा रोएर हिंडेका बुढा ससुरालाई हँसाएकि छौ !तर मेरो बलिदान बुवाले नबुझिदिँदा मेरो मन रोएको कस्ले देख्यो र ?
अविश्रान्त मेरा पाईलाहरु गन्तव्यमा त पुग्न सकेनन्
त्यो भन्दा पनि दु:खको कुरा जसका खुशीका खातिर
आफ्ना खुशीहरु लुटाईदिएँ। कहिल्यै खुशी भएको
महसुस गरिनँ , न अरु खुशी भए न म खुशी भएँ ! (कल्पना अधिकारी भण्डारी ,भरतपुर चितवन)