प्रधानमन्त्री देउवा भेट्न एमाले उपमहासचिव पौडेल बालुवाटारमा

everest kitchen

काठमाडौं। एमाले उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । रूपन्देहीका एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न एमाले टोलीले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेल बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरूसहित बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवाले आह्वान गरेको सर्वदलीय बैठक बस्नुअघि नै एमाले उपमहासचिव पौडेलले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए । अहिले बालुवाटारमा सर्वदलीय बैठक जारी छ । तर, एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको छ ।