कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौंमा थप कडाई

everest kitchen

काठमाडौं । काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न नपाइने उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुँदासम्म लागू हुनेगरी यो आदेश जारी गरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, दूरी कायम गर्न तथा घरभित्रै रहेर न्यूनतम सहभागितामा चाडपर्व मनाउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीसाधनमा चढ्न रोक लगाउने निर्णय गरिएको छ । प्रशासनले सार्वजनिक सवारीसाधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न समेत यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरिएको उल्लेख छ । साथै सार्वजनिक यातायातका साधनमा निर्धारित सीट संख्या भन्दा बढी यात्रु नचढाउन पनि प्रशासनले आग्रह गरेको छ ।

यसैगरी होटल, रेष्टुराँ र सिनेमा हलमा सामाजिक दूरी कामय गर्न आदेश जारी गरिएको छ । उक्त आदेश पालना नगरेको पाइए कानून बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।