पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने प्रचण्डको तयारी

everest kitchen

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)को अध्यक्षमा पन्चा सिंह चयन हुने लगभग पक्का भएको छ । अध्यक्षका दावेदार ६ नेताहरुमा आपसी सहमति नभएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आवश्यक परामर्श गरेर नेतृत्व तोकिदिन लागेको हो ।

क्रान्तिकारीको अध्यक्ष चयनकै लागि हिजो माओवादी केन्द्रको स्थायी समितिको बैठक बसेको थियो । स्थायी समितिका सदस्यहरुले पनि पञ्चाकै पक्षमा राय व्यक्त गरेका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले उनको पक्षमा निर्णय सुनाएका हुन् ।

आज विहान अध्यक्षका प्रत्यासीहरुलाई खुमल्टार बोलाएर अध्यक्ष प्रचण्डले नयाँ नेतृत्वबारे जानकारी गराउँदै विद्यार्थीसँगठनबाट बाहिरिने नेताहरुलाई पार्टीमा समेट्ने जानकारी गराएका छन् । बैठकमा सहभागि एक नेताका अनुसार अध्यक्ष प्रचण्डले नेतृ पन्चा सिंहलाई अध्यक्षका रुपमा प्रस्ताव गरेका छन् ।

उनी अघिल्लो सम्मेलनबाट महिला उपाध्यक्षमा निर्वाचित भएकी थिईन् । सिंह अध्यक्षमा चयन भएमा दुई ठुला कम्युनिष्ट पार्टीका विद्यार्थी संगठनको अध्यक्ष महिला हुने देखिएको छ । यस अघि एमाले निकट अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी थिईन् ।

माओवादीले क्रान्तिकारीको महासचिवमा भने दिपेश पुनलाई चयन गर्ने संभावना बढेको छ । उनी हाल समावेशी उपाध्यक्ष छन् । पुनसँगै उपाध्यक्ष रहेका ईन्द्र भुषालको पनि संभावना रहेको एक नेताले बताए ।

महासचिवका लागि ३ जना प्रतिस्पर्धामा छन् । अध्यक्षबाहेक अन्य पदाधिकारीको हकमा संगठनले टुंगो लगाउने समझदारी बनेको छ ।