सेयर बजार निरन्तर ओरालो, लगानीकर्ता निराश

everest kitchen
photo file

काठमाडौं । सेयर बजार निरन्तर ओरालो यात्रामा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर दुई हजार ५७ दमलव ४९ विन्दुमा पुगेको छ ।

नेप्से दुई दशमलव १२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११ दशमलव ०७ अंकले घटेर चार सय ८५ दशमलव ९८ विन्दुमा झरेको छ ।

नेप्सेका अनुसार कूल २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २ सय ४६ रूपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सर्वाधिक कारोबार गर्नेमा अपि पावर कम्पनी छ । उक्त कम्पनीको १५ करोड ६ लाख १६ हजार २ सय २१ दशमलव ९० रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

बजारमा देखिएको आर्थिक तरलता र सेयर कर्जामा लागेको सीमा पुनरावलोकन नभएसम्म बजारमा रौनक नआउने लगानीकर्ता बताउँछन् । यस्तै, दसैं तिहारमा रेमिटेन्स भित्रिनेक्रम बढ्नेछ । सर्वसाधारणले पनि यस बेला बढी खर्च गर्ने भएकाले बजारमा पैसाको आपूर्ति बढ्नेछ ।

यी परिदृश्यहरुमा फेरि अर्को महिनादेखि ब्याजदर पनि सहज हुँदै जाने विश्लेषणहरू भइरहेका छन् । अहिलेको ब्यादजर वृद्धि अल्पकालीन हुने विश्लेषकहरु बताउँछन् ।

सेयर बजार सधैं घट्ने वा बढ्ने मात्र गर्दैन । घटबढ बजारको नियम हो । त्यसैले, लगानीकर्तालाई निराश नभई घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी भएको सेयर बजार विश्लेषकहरूले आग्रह गरेका छन् ।

आइतबार कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको सूचांक राताम्मे भएको छ । आइतबार सबैभन्दा धेरै फाइनान्स समूहका उपसूचांकहरु रहेका छन् । फाइनान्स समूहको सूचांक चार दशमलव ३३ प्रतिशतले ओरालो लागेको छ । बाँकी सबै समूहको सूचांकमा एकदेखि ती प्रतिशतसम्मको गिरावट आएको छ ।

आइतबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर तीन सय २५ रूपैयाँ ४० पैसा पुगेको छ ।