ऊर्जामन्त्रीको हस्तक्षेपपछि ‘पोल विवाद’ को अस्थायी समाधान

everest kitchen

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा केवल व्यवसायीबीच पोलभाडाको विषयलाई लिएर उत्पन्न विवाद अस्थाइरुपमा हल भएको छ । ऊर्जामन्त्री पम्फा भुषालले हस्तक्षेप गरेपछि प्राधिकरण इन्टरनेट तथा केबलका तार काट्ने काम रोक्न सहमत भएको हो ।

पोल भडा नतिरेको भन्दै प्राधिकरणले हिजोबाट इन्टरनेट तथा केबलका तार काट्न सुरु गरेको थियो । यसबाट देशभर इन्टरनेट सेवा प्रभावित बनेपछि उपभोक्ताको अधिकार हनन भएको भन्दै बिरोध तथा समर्थन हुन थालेको थियोे ।

विवाद समाधानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहल गरेको थियो । सञ्चार मन्त्रालयले उर्जा मन्त्रालयसँग समन्वय गरेपछि आज बहुपक्षीय वार्तापछि हल निकालिएको बताएको छ ।

सञ्चार मन्त्रालयमा मन्त्री नियुक्त नभएकाले उर्जा मन्त्री पम्फा भुषालको उपस्थितिमा उनकै कार्यकक्षमा वार्ता भएको थियो ।

साथै, वार्तामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी थिए । यस्तै दुरसञ्चार प्राधिकरण र इन्टरनेट तथा केवल व्यवसायीको पनि प्रतिनिधित्व थियो ।