ला लिगामा रियललाई झट्का

everest kitchen

काठमाडौँ । स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिड आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो ।

रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र एलेक्स भिडालले गोल गरे । रियलका करिम बेन्जेमाले सान्त्वना गोल फर्काएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा स्पान्योलले १७औं मिनेटमा खाता खोलेको थियो । टोमसले एड्रियन एम्बार्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए ।

त्यसपछि ६० औं मिनेटमा भिडालले गोल गर्दै स्पान्योलको अग्रता दोब्बर बनाए । भिडालले केइदी बारेको पासमा गोल गरेका थिए । पाहुना टोली रियलले खेलको सुरुवातदेखि आक्रमण बुनेपनि पहिलो हाफमा गोल गर्न सकेन । ७१औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे ।

बेन्जेमाले लुका जोभिकको पासमा गोल गरेका थिए । जारी लिगमा बेन्जेमाको यो नवौं गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्ष सुचीमा छन् ।

हारेपनि रियल शीर्षस्थानमा यथावत छ । आठ खेलमा पाँच जित, दुई बराबर र एक हार खेपेको रियलको १७ अंक छ । रियललाई हराएको स्पान्योल नौ अंक जोड्दै १३औं स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिड र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको पनि समान १७ अंक छ ।

आइतबार राति नै भएको खेलमा सोसिडाड गेटाफेसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अर्को खेलमा १० खेलाडीमा समेटिएको सेभिया ग्रानाडासँग १–० गोलले पराजित भयो । अन्य खेलमा भिल्लारियलले रियल बेटिसलाई २–० र इल्चेले सेल्टा भिगोलाई १–० गोलले पराजित गरेको छ ।