सत्ता गठबन्धनले मन्त्री छान्दै: मन्त्रीपरिषदले छिट्टै पूर्णता पाउने

everest kitchen

काठमाडौं । सत्ता गठबन्धनका दलहरु आ-आफ्नो पार्टीबाट सरकारबाट पठाउने मन्त्रीहरु छनोटमा व्यस्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले मन्त्री छान्ने कार्यमा जुटेका हुन

मंगलबार बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भएपछि मन्त्री छनोटमा व्यस्त भएका हुन् । मन्त्री छनोटलाई औपचारिकता दिन नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो बस्दै छ । यसअघि नै माओवादीले अध्यक्ष प्रचण्डलाई मन्त्री छान्ने जिम्मा दिएको थियो ।

यस्तै जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बस्दै छ । केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजे बस्ने बैठकमा मन्त्री छनोटबारे छलफल हुने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

सत्ता गठबन्धनको मंगलबारको बैठकमा कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्य मन्त्री, नेकपा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री तथा जसपाले चार मन्त्री पाउने सहमति भएको छ ।