नेकपा एकीकृत समाजवादीले चार जना पदाधिकारी थप्यो

everest kitchen

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले ४ जना थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवमा गरिमा शाह, जीवराम श्रेष्ठ र भागवत विश्वासीलाई मनोनीत गरिनेछ ।

केन्द्रीय सदस्य नामावली सार्वजनिक गर्न गृहकार्य गरे पनि भोलि केन्द्रीय सचिवालयले नामावली टुंगो लगाउने र भोलि वा पर्सि नाम सार्वजनिक गर्ने उनले बताए । नेकपा (एस)को ३०१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

पार्टीले अनुशासन, लेखा र निर्वाचन आयोगमा ३५ सदस्यीय हुने निर्णय गरेको छ । ती आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको पद राख्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

केन्द्रीय विभाग २५ सदस्यीय, स्थानीय तहका कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव दुई गरी छ पदाधिकारी व्यवस्था गरिएको उनले जानकारी दिए । नेकपा (एस)ले जिल्ला कमिटी १०१ सदस्यीय गठन गर्ने निर्णय गरेको छ ।

बैठकले विजय गुरुङको संयोजकत्वमा सम्पर्क कमिटी पनि गठन गरेको छ । पार्टीले केन्द्रीय कार्यालयसमेत गठन गरेको छ । महासचिव वेदुराम भुसालको संयोजकत्वमा गंगालाला तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल र जगन्नाथ खतिवडा रहेका छन् ।