प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट : जनार्दन शर्मा

everest kitchen

काठमाडौ। अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको बताएका छन् । सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन् ।

‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो । तर, त्यसलाई छाड्दा सवथोक विकेन्द्रीकरणतर्फ गयो,’ उनले भने, ‘अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुपर्‍यो ।’

उनले पार्टीलाई जननियन्त्रित र जननिर्देशित रूपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औंला ठड्याउन पाउनुपर्‍यो । हामीले गरेका गल्ती उपर जनताले भण्डाफोर गर्ने मौका पाउनुपर्‍यो । यस्तो खालको पार्टी बनाउनुपर्‍यो, ’ अर्थमन्त्री शर्माले भने, ‘अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताको मूल्याङ्कन गरिन्छ ।’

संगठन विभागको प्रस्तावमा स्थायी समितिले ‘देश बनाऔं टोलबाट, पार्टी बनाऔं सेलबाट’ भन्ने नारा पारित गरेको भन्दै उनले यसलाई देशभर अभियानको रूपमा लागू गर्नुपर्नेमा जोड दिए । पार्टीको पक्षमा ३० लाख संगठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ त्यसको लागि संगठनात्मक फर्मुला समेत तयार गरेको उनको भनाई रहेको छ ।

नेता शर्माले अबदेखि पार्टी र जनसंगठनहरूका हरेक कमिटीहरू आर्थिक उत्पादन, रोजगारी र सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानमा अनिवार्य रूपले जोडिनुपर्ने बताए ।

हरेक कमिटी र हरेक व्यक्ति आर्थिक रूपले आत्मनिर्भर भएपछि मात्र समाजवाद आउने भएकोले पार्टीको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढाउन आग्रह गरे ।

अर्थमन्त्री शर्माले अब नेपालमा बन्द भएका उद्योगहरू चलाउने, नयाँ उद्योग धन्दा खोलेर रोजगारी सृजना गर्ने र राष्ट्रिय पुँजी निर्माण गर्ने गरी सरकारले नीति बनाएको जानकारी दिए ।

सरकारले सहिद परिवारलाई मासिक वृत्ति, दीर्घ रोगीहरूलाई मासिक उपचार खर्च, राजनीतिक आन्दोलनका घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था, महिला पहिला कार्यक्रम, युवा रोजगारी, दलित आवास निर्माण, पढ्दै कमाउँदै, डिजिटल शिक्षालगायतका लोक कल्याणकारी कार्यक्रम ल्याएको र तिनको कार्यान्वयनसमेत अघि बढिसकेको उनले बताए ।न्युज कार