हराएको सात महिनापछि बालकलाई अभिभावकको जिम्मा

everest kitchen

कपिलवस्तु। कपिलवस्तु नगरपालिका ३ की जोखना तेलीले छोरालाई अंगालोमा राखी करिब १ घण्टा आँशु खसालिन । उनका १४ वर्षका छोरा काशीराम ७ महिना अगाडि घरबाट भागेका थिए ।

उनी छिमेकीको उक्साहटमा घरमा जानकारी नदिइ भारत पुगेका थिए । २९ फागुनमा उनी परिवारलाई थाहा नदिई निस्किएपछि हराएको आशंकामा प्रहरीमा जाहेरी दिइएको थियो ।

सजिलै धन कमाउन सकिने भन्दै छिमेकी दाजुहरूले मुम्बई पुर्‍याएर अलपत्र छाडेका थिए । हराएको छोरासँग ७ महिनापछि भेट भए पछि जोखनीले आफूलाई सम्हाल्न सकिनन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा नै रोइन ।

मुम्बई डोँगरीस्थित एक बालगृहमा आश्रित काशीराम मंगलबार नेपाल पुगेका हुन् । बालगृहबाट नेपाल ल्याउने अदालती प्रक्रिया पूरा गर्न करिब डेढ महिना लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

नेपाल दर्पण नामक अनलाइनले बालकको विषयमा खोजी गरेको समाचार ‘नेपाली महासंघ मुम्बई’ नाम गरेको संस्थाको नजरमा परेपछि बालकको घरको खोजी सुरु गरेको थियो ।

प्रहरीमा जाहेरीको दिएको हुँदा बालकको परिवार पहिचान गर्न सजिलो भएको हो । संस्थाका महासचिव पुरन कुँवरले बालकलाई मुम्बईदेखि उद्धार गरी नेपाल पुर्‍याएका थिए । मुम्बईमा अलपत्र परेका तेलीलाई उद्धार गरी बालगृह पुर्‍याइएको थियो ।

तेलीलाई कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे, साथी संस्था कपिलवस्तुको संयोजक विमला घिमिरेको रोहवरमा परिवारको जिम्मा लगाइएको छ ।

तेलीको उद्धारमा सहयोग गरेकोमा कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले महासचिव कुँवरलाई प्रशंसा पत्रले सम्मान गरेका थिए ।