नेपाली साहित्याकाशमा गङ्गा पौडेल कर्माचार्य गंगा कर्माचार्य पौड्याल एउटा स्थापित र सुप्रशिद्ध नाम हो। लेखनयात्राको चार दसकपछि मात्रै लघुकथामा आकर्षित भइ कलम चलाउन थालेकी हुन्। उनले ‘मौन प्रश्न’ नामक लघुकथा सङ्ग्रह (२०७६) प्रकाशनसमेत गरेकी छन् । , प्रस्तुत छ उनको साहित्यिक सेरोफेरोका साथै लघुकथा उपबिधासँग केन्द्रित रहेर हिमाल टाईम्स साहित्य प्रमुख तथा लघुकथा पाठशालाका एडमीन राजु क्षत्री अपुरोले उनीसँग गरेको सक्षिप्त भलाकुसारी:-
नमस्कार हाम्रो लघुकथा पाठशाला पेजमा स्वागत छ। यहाँको आफ्नो पुरा परिचय बताइदिनुहोस् न।
– नमस्कार ,म गङ्गा कर्माचार्य पौडेल,जन्ममिति २०११.भदौ २० गते। दार्सिङ् दहथुम स्याङ्जा गण्डकी प्रदेश,हाल बूनपा वडा १० कपन शिवपुरीचोक काठमाडौंमा बसोबास गर्दै आइरहेकी छु ।
मैले शिक्षामा–स्नातक पृथ्वीनारायण कलेज पोखरा बाट २०३३ मा पूरा गरेकी हुँ ।पेशागत रुपमा –कुष्ठरोग निवारण संघ काठमाडौंमा अधिकृत तृतियश्रेणी ३२ वर्ष सेवापछि २०६९साल बैशाखदेखि अवकाश प्राप्त । हाल स्वतन्त्र लेखन, संपादन, साहित्यिक पत्रकारिता,समाज सेवा,गृहणी ।
साहित्यमा कहिले देखि कलम चलाउन थाल्नुभयो?
– २०२३ सालतिर कक्षा ६ मा पढ्दादेखि नै जानी नजानी कविता कोर्थे । हरेक हप्ता शुक्रवार हाफछुट्टी पछि नेपाली पढाउने गुरु र विद्यार्थीहरू चौरमा बसेर आआफना सीर्जना सुनाउने गरिन्थ्यो । त्यसबाट उत्कृष्ट तीनवटा छानेर गुरुले स्कूलको भित्तामा गोवरले टाँस्नुहुन्थ्यो (नाग टासें झै गरि) किनभने त्यतिबेला गम थिएन न त कविता छाप्ने पत्रिका थियो ।
पछि २०३२सालमा पृथ्वीनारायण कलेज पोखरामा पढ्दा बल्ल ‘विवेक’ शिर्षकको मेरो कविता पहिलो पटक साप्ताहिक देशान्तर पत्रिकामा छापिएको थियो ।
हालसम्म प्रकाशित कृतिहरू,फुटकर के कति रहेका छन् ?
– हालसम्म प्रकाशित कृतिहरू : गङ्गाका केही छालहरू कविता सङ्ग्रह २०३३, आँधी खोलाको संझना कविता सङ्ग्रह २०६३,ओजु र डाँफे बालकाव्य २०६४, धौली आमा बाल काव्य २०६५, पञ्चवलि बाल उपन्यास २०६६(नेपाल बालसाहित्य समाजबाट उत्कृष्ट बाल पुस्तक लेखन पुरस्कार २०६६बाट पुस्कृत), चारआँठे चुल्ठो(प्रौढ कथा सङ्ग्रह)२०६७, सुरी र भौं भौं बालकथा सङ्ग्रह २०६७, किम्म र मिम्मी बालकथा सङ्ग्रह २०६७, कितावको जिल्ला बालकथा सङ्ग्रह २०६८, कागले किन काँ काँ भन्छ? बालकथा सङ्ग्रह २०६८, रहेका छन्।
त्यस्तै, दशैंको दक्षिणा बाल उपन्यास २०७०, चतुरेले चालपायो बाल चित्रकथा २०७०, तर्साउने केटो बालचित्र कथा २०७०, कागले लग्यो कान बालकथा सङ्ग्रह २०६१, गुलाफको फूल बालकथा सङ्ग्रह २०७१, अप्पुको साइकल बालचित्रकथा २०७२, छमछमी नाच्छु तीजमा बालकथा सङ्ग्रह २०७२, भुइँचालो बालकथा सङ्ग्रह २०७२, शिविरकी सुन्तली किशोर उपन्यास २०७२, स्याङ्जाको नेपाली बालसाहित्यको इतिहास २०७२, लगायतका पुस्तक पनि प्रकाशन भएका छन्।
साथै,,सरस्वती किशोरउपन्यास २०७२(गोठाले पाडुलिपि पुरस्कारबाट पुरस्कृत कृति), को ठूलो? बालकथा सङ्गग्रह ब्रेललिपिमा),२३) आहा घान्द्रुक बाल नियात्रा २०७५, मौन प्रश्न लघुकथा सङ्ग्रह २०७६, आधी घण्टा नियात्रा सङ्ग्रह २०७६, गण्डकी प्रदेशको नेवारको इतिहास भाग (१)२०७६, कमिलाका कुरा बालकथा सङ्ग्रह २०७८, काउकुती लाउने भूत बालकथा सङ्ग्रह २०७८, र फुटकर रचनाहरू ३०० जति विभिन्न पत्रपत्रिकामा छरिएका छन् ।
सबेै भन्दा आफूलाई मन पर्ने विधा भन्नुपर्दा ?
मलाई नेपाली भाषा साहित्यको गद्य पद्य सबै विधामा लेख्न पढ्न मन पर्छ । यद्यपी पद्यमा छन्द कविता,महाकाव्य र गद्य विधामा प्रौढ पाठकका लागि उपन्यास,नाटक लेख्न बाँकी नै छ ।
५) आफ्नो लेखन यात्राका प्रेरणाका स्रोतहरू बताइदिनुहोस् न ?
मेरो साहित्यिक लेखनको प्रेरणाका श्रोत पहिला पाठ्य पुस्तकका कविता बने । किनभने पाठ्य पुस्तकमा भएका कवि शिरोमणि लेखनाथ पौड्यालको कविता पिंजडाको सुगा पढेर मैले पनि यस्तै कविता लेख्छु भन्दै कपिमा कोर्थे तर त्यस्तो कविता अहिले सम्म पनि बन्न सकेको छैन ।
पछि म साहित्यमा निरन्तर लागिपरेपछि विभिन्न संघ संस्थाबाट पुरस्कृत,सम्मानित हुन थालें । घरमा मेरो कोठाको भित्ताभरि सम्मानपत्रहरू छन् । त्यसपछि मेरो जिम्मेवारी पनि बढ्दै गएको मैले महसुस गरेकी छु । जव मेरा आँखाहरू ती सम्मान पत्रमा पर्छन तव मलाई एकप्रकारको उर्जा मिल्छ, प्रेरणा हौसला बढेर आउँछ र लेख्न थाल्छु । त्यसकारण अहिले मेरो प्रेरणाको स्रोत यीनै सम्मानपत्रहरू भएका छन् ।
लघुकथा यात्रा कहिले देखि र फरक विधाबाट लघुकथा लेखनमा आकर्षित हुनाका कारण ?
मैले लघुकथा २०६६ सालदेखि लेख्न थालेको हो । पहिलो लधुकथा आफन्त नै पराइ भए शीर्षक ,नेपाल बोर्डर साप्ताहिक पत्रिकामा छापिएको थियो ।
लघुकथामा आकर्षित हुनाको मूख्य कारण २०६६ साल मै सुरभि साहित्य प्रतिष्ठान जोरपाटीमा स्थापना भयो । प्रतिष्ठानले हरेक महिनाको तेस्रो शनीवार आख्यान गोष्टी कार्यक्रम संचालन गर्ने गरेको थियो । मपनि कार्यक्रममा सहभागी हुन्थें र वाचन गरिएका आख्यान सुन्थेंं । त्यतीबेला अरु कथाले भन्दा छोटा,मिठा,चोटीला लघुकथाले मेरो मन तान्न थाल्यो ।त्यसपछि म पनि यतैतिर लागें ।
हाम्रो लघुकथा पाठशाला गतिविधिलाई कसरी नियालीरहनु भएको छ ?
– नियाली रहेको छु नि। यसको लघुकथा क्षेत्रमा राम्रो गरिरहेको छ।
साथै हाम्रो लघुकथा पाठशालाले खेलेकोभूमिका र थप नयाँ आयाम बारे आफ्नो केही भनाइ सुझाव छ कि?
हाम्रो लघुकथा पाठशालको गतिविधि हेर्ने गरेको छु । तर जति हेर्नुपर्ने हो त्यती हेर्न सकिरहेको छैन । किनभने लघुकथा पाठशालको गतिविधि दिनप्रतिदिन यति धेरै बढ्दो छ कि एउटा कार्यक्रम हेर्यो अर्को छुटीरहेको हुन्छ । लघुकथा पाठशालाको गतिसँगै मैले आफ्नो गति बढाउन सकिरहेको छैन ।पहिला लघुकथा पाठशालाले यति चाँडै तिब्र गति लेला भनेर मैले सोचेकी सम्म थिइनँ ।
यसका संस्थापक एडमीन राजु क्षेत्री ‘अपुरो’ , एडमिन लता केसी सहित लघुकथा पाठशाला परिवार सदस्यको लघुकथा प्रतिको लगाव ,मिहेनत परिश्रम,लघुकथा प्रतिको निष्ठाले गर्दा आज यो विधाले साहित्यका अरु सबै विधालाई पछि पार्ला जस्तो देख्दैछु । किनभने अहिले छापामा हेर, लघुकथा।अनलाइनमा हेर लघुकथा। युटुबमा हेर लघुकथा। जताहे¥यो त्यतै लघुकथा देखिन्छ । साहित्यिक माहौल नै एकप्रकारले लघुकथामय बनेको छ । स्रष्टामा पनि लघुकथा लेख्ने होडबाजीनै चलिरहेको छ । त्यसले गर्दा लघुकथा पाठशालाको गतिविधि लघुकथाकोे श्रीबृद्धिमा महत्वपूर्ण भूमिका रहेको पाइएको छ ।
अर्को कुरा लघुकथा पाठशालाले लघुकथा लेखन प्रशिक्षणको आयोजना गरे कतिराम्रो हुन्थ्यो भन्ने मेरो मनमा लागिरेहको थियो । किनभने भने सैद्धान्तिक ज्ञानविनाको रचना रस नभएको फलजस्तो हुन्छ । यस विषयमा एकदिन सुझाव राख्नेमा थिएँ तर लघुकथा समाचारमा खेमराज पोखरेल सरबाट लघुकथा प्रशिक्षण हुँदैछ भन्ने सुनेर औधी खुसी लागेको छ ।
र थप अर्को कुरा, लघुकथा लेखनकला जति राम्रो भएपनि वाचन कला राम्रो भएन भने लघुकथा सुन्दा त्यती मजा लाग्दैन र प्रभावकारी पनि हुँदैन त्यसकारण लघुकथा वाचन प्रशिक्षणको पनि ब्यवस्था गर्न सके सुनमा सुगन्ध हुने थियो ।
नयाँ लेखक सर्जकलाई मार्ग दर्शन दिनु पर्दा?
– लघुकथा लेखनमा नयाँ पुस्ताको आकर्षण बढ्दो छ । यो नेपाली भाषा साहित्य विकासको शुभ सङ्केत हो भन्ने मलाई लागेको छ । लघुकथा लेखनमा प्रवेश गर्नु पहिले यसको सैद्धान्तिक अध्ययन गर्नुभयोभने तपाईले लेख्नु भएको लघुकथा साँच्चिकै लघुकथा जस्तो बन्ने छ । प्रशिक्षण तुरुन्त ब्यवस्था हुन नसके विज्ञसँग सिक्नुहोस्, अरुले लेखेका थोरैमा दश ओटा लघुकथाका पुस्तक पढ्नुहोस् भन्ने सुझाव दिन चाहान्छु ।
९)पुरानो पुस्ताका ५ जना लघुकथाकारका नाम लिनु पर्दा को कसको नाम लिन चाहानुहुन्छ ?
– पुराना पुस्ताका लघुकथाकारको नाम लिनु पर्दा म पूर्ण प्रकाश नेपाल यात्री,भागीरथी श्रेष्ठ, खेमराज पोखरेल,नारायण तिवारी,कृष्ण बजगाईं लाई संझन चाहान्छु ।
अन्तमा आफ्नो तर्फबाट भन्नुपर्ने केही थियो कि ?
अन्तमा मलाई लघुकथा संवन्धि आफ्नो मनमा लागेका कुरा व्यक्त गर्ने अवसर दिइएकोमा लघुकथा पाठाशाला परिवारप्रति हार्दिक धन्यवाद भन्न चाहान्छु । साथै लघुकथा पाठशालका संस्थापक लता केसीजी र तपाईं एड्मिन राजु क्षत्री अपुरो लाई विशेष धन्यवाद ।