‘नक्कली डाक्टर’ जयसवालद्धारा १० वर्षदेखि पोलिक्लिनिक सञ्चालन, नागरिकको स्वास्थ्यमा खेलवाड

everest kitchen

रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ स्थित शिवनगरमा विगत १० वर्षदेखि उमेश प्रसाद जयसवाल भन्ने व्यक्तिले नक्कली डिग्री देखाएर आनन्द पोलिक्लीनिक एण्ड एक्यूपँचर सेन्टर सञ्चालन गर्दै आएको खुलासा भएको छ ।

गैरकानुनी ढंगले सञ्चालनमा रहेको उक्त क्लिनिकमा एउटै डाक्टर नरहेको र ४ बेडको सैया सञ्चालनको लागि मात्रै अनुमति रहेकोमा २५ बेड सम्म सञ्चालनमा रहेको पाइएको छ ।

उक्त पोलिक्लिनिकको सञ्चालक शिव शंकरको छोरा नाता भएका जयसवालले लामो समयसम्म आफु भारतबाट डाक्टर पढेर आएको भन्दै त्यहाँ बिरामीहरुको चेकजाँच गरेको र केही समय अगि मात्रै स्थानीय केही मिडियाले थाहा पाएपछि उक्त पोलिक्लिनिकको बोर्डबाट डाक्टर उमेश प्रसाद जयसवाल नाम हटाएको तथ्य उज्यालो नेटवर्कलाई प्राप्त भएको छ ।

स्रोतका अनुसार उक्त सूचना बाहिर आएपछि जयसवालले स्थानीय प्रशासन र मिडियामा उक्त तथ्य लुकाउनको लागि मोटो रकम खर्च गरेका छन् ।

उनले कलकत्ताबाट पढेर बिना काउन्सिल नम्बरकै गैरकानुनी रुपमा पोलिक्लिनिकमा बिरामी चेकजाँच देखि उपचारसम्म गरिरहेको बुझिएको छ । यसबारे उनलाई डिग्रीको प्रमाणपत्र माग्दा देखाउन मानेनन् ।

हामीले जयसवालको काउन्सिल नम्बरको विषयमा आयुर्वेदिक चिकित्सा परिषदमा फोन गरेर बुझ्दा उनी परिक्षामा सहभागी भएपनि उनको केही डकुमेन्टहरु नपुगेकाले काउन्सिल नम्बर नदिएको बताए ।

एउटा चिकित्सकको एउटा काउन्सिल नम्बर हुनुपर्नेमा जयसवालले विभिन्न काउन्सिलहरु उल्लेख गरेका छन् । एक्यूपँचरमा डिप्लोमा मात्रै गरेका उनले डाक्टर लेख्न नपाए पनि उनले बोर्डमा आफुलाई डाक्टर लेखेका छन् । साथै उक्त पोलिक्लिनिकमा डाक्टरको लेटरप्याडमा कुनै पनि डाक्टरको काउन्सिल नम्बर नभएको पाइएको छ ।

हामीले यस विषयमा कुरा गर्न खोज्दा जयसवाललाई सम्पर्क नभएपछि उक्त पोलिक्लिनिकका लेखा शाखाका उमाशंकर गिरिसँग सम्पर्क गरेका थिए । गिरिसँगको संवादमा उनले जयसवालले भारतको ओपेन युनिभर्सिटीबाट एक्यूपँचरमा डिप्लोमा गरेको तर जयसवालले डाक्टर लेख्न नपाए पनि आफुलाई वरिष्ठ डाक्टर भनेर बोर्डमा समेत डाक्टर उमेश प्रसाद जयसवालले लेखेको कुरा स्वीकार गर्दै आफुहरुबाट गल्ती भएको स्वीकार गरेका छन् ।

नक्कली डाक्टर जयसवाल पोलिक्लीनिकका सञ्चार शिव शंकरको छोरा भएकोले हाल पनि उक्त पोलिक्कीनिकमा आबद्ध रहेको तर उनले बिरामीहरुको एक्यूपँचर मात्रै हेरेको बताए ।

स्रोतका अनुसार आफैले डाक्टर घोषणा गरेर हजारौं बिरामीहरुको स्वास्थ्यमाथि खेलवाड गरेर जयसवालले करोडौं सम्पत्ति समेत आर्जन गरेको र राज्यको नजरबाट बच्नको लागि विभिन्न व्यक्तिको नाममा सम्पत्ति राखेको बताए । हामीले यस विषयमा बुझ्दा उनले यो कुरा ठाडै अस्वीकार गरेका छन् ।

साथै उज्यालो नेटवर्कले यस विषयमा समाचार सम्प्रेषण गर्ने तयारी गरेको थाहा पाएपछि जयसवालले विभिन्न व्यक्तिहरु लगाएर समाचार सम्प्रेषण नगर्न धम्की समेत दिएका छन् । उज्यालोनेटवर्कबाट साभार