रुकुम । भिरबाट लडेर गम्भीर घाइते भएका रुकुमका ४२ वर्षीय भिम बहादुर ओलीको निधन भएको छ । असोज २७ मा भिरबाट लडेर गम्भीर घाईते भएका रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका -३ का स्थायी बासिन्दा ओलीको उपचारको क्रममा निधन भएको हो ।
ओली नजिकै घरमाथिको भिरबाट असोज २७ गते दिउँसो तिर लडेर गम्भीर घाईते भएपछि उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको पारिवारले बताएको छ । उनको त्यहीँ उपचारको क्रममा मंगलबार साँझ निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
गाउँमा निकैनै मिलनसार स्वाभावका उनी गाउँमा नेतृत्वदायी भुमिकामा रहदै आएका थिए । उनको घरमा श्रीमती, दुई छोरा र एक बुहारी समेत रहेका छन् । केही बर्षअघि उनका बुवाको पनि भिरबाट लड्दा निधन भएको थियो ।