बझाङ सदरमुकाम चैनपुर बाढिको उच्च जोखिममा , बगायो बझाङको बस पार्क

everest kitchen

समीर मल्ल
बझाङ। लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि बझाङ बाढीको उच्च जोखिममा परेको छ ।

सेती, कालंगा नदी, र बाहुली खोला लगायतका साना ठूला खोलामा पानीको बहाव बढेको छ । नदीहरूमा पानीको सतह बढेसँगै जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ ।

सूचना जारी गर्दै जिल्ला प्रसासन कार्यालयले नदीको बहाब बढेकाले काठ उतार्न, माछा मार्न र पानीसँग खेल्न, नदी खोला नजिक नजान आग्रह गरेको हो । प्रशासनले माछा मार्न तथा जरुरी कामबाहेक एक्लै नहिँड्न पनि आग्रह गरेको छ ।

सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर उच्च जोखिममा छ । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको स्थानीय बताए ।

सेती र बाहुलीगाडले सदरमुकाम आसपासको कतै न कतैको जमिन हरेक वर्ष कटान गर्ने गरेको । बहुलीगाडले बेला–बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ ।

सदरमुकामको पूर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ । बाहुलीको वितण्डापछि सदरमुकाम बचाउन अभियान सञ्चालन भएर सेती नदी र बाहुलीगाडतर्फ तटबन्धन गरिएको छ ।

लगातारको वर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसीसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ । बाहुली खोलामा आएको बाढीले सदरमुकाम चैनपुरको खोलाछेउमा रहेका दुई वटा पोल्टी फर्म, बंगुर फर्म बगाएको छ ।

त्यस्तै विभिन्न ठाँउमा गएको पहिरोले सयौँ परिवार विस्थापित भएका छन् । बाढीका कारण लघु जलविद्युत् आयोजना, नहर, विद्यालय, ग्रामिण सडकमा क्षती पुगेको छ । पहिरोले सयौँ रोपनी खेत बगाएको छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतीको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले बताए ।

तीन दिनदेखि घाम नलाग्दा बझाङमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सौर्य ऊर्जामा निर्भर बझाङका टेलिफोन टावरहरूमा राखिएको सोलारमा चार्ज नहुँदा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।