बिजयराज न्यौपाने
पढेकी, निजामती सेवामा (जागीर) लागेकी, आफ्नै गोडामा उभिएकी बुहारी जूनाप्रति सासूससुरा बूढाबूढीलाई गर्व थियो । छोराको बिहे गर्दा भर्खर वीएमा भर्ना भएकी बुहारीलाई पढाए, सुब्बा बनाए ।
आफू शिक्षण पेसामा सम्लग्न ससुरा बूढा जमानाका नामुद हेडमास्टर थिए । एक झलक देख्दैमा, एक वचन बोल्दैमा मान्छे कुन स्वभावको हो अलक्कै छुट्याउथे । अर्ती बुध्दि र प्रेरणा दिने काममा उनी खप्पिस थिए ।
सुब्बा भएँ भनेर चूपचाप नबस्नु । माथि उक्लिन परेन ? हिक्मत उठाऊ । बच्चा सानै छ नभन,आमा छे, म पनि छु उसको साथी ।शाखा अधिकृतको तयारी गर । कोचिङ कक्षामा सम्मिलित होऊ भनेर बूढाबूढीले बुहारीलाई तिखारे । भन्दाभन्दै एकदिन त शाखा अधिकृत भइन् बुहारी । जति प्रगतिको सिढी उक्लियो उति बुहारीमा भने अभिमान पनिउक्लिदै थियो ।
आजकल त सिडिओ भएर फलानो जिल्लामा बुहारीभन्दा बूढाबूढीढाको नाक फर्फराउँछ । बूढाबूढीभित्रैदेखि भने खुसी हुनसकेका छैनन् । बुहारीको मर्यादित संस्कार नपाउँदा खल्लो तरकारीको स्वाद लिएझैँ छ उनीहरूलाई ।
एकपल्ट बुहारी जिल्लाबाट घर फिरेका बेला उनको जन्म दिन आयो । छोरो, नाति दुबै जन्मदिवसको तयारीमा लागे । साँझपख बैठक कोठा झकिझकाउ भयो । ह्याप्पी बर्थडे भन्ने र उपहार दिनेको ताँती लाग्यो ।
पूरैपाश्चात्य ढङ्गको रबाफ झल्कन्थ्यो कोठाचोटामा। टेबलमाथि ठूलो फर्सी झैँ केकको थुप्रो थियो ।पटका, मैन बत्ती, काँटा चम्चा, प्लेट, नेपकिन, मिठाइका विविध परिकार देखिन्थे । बूढा बूढी भने त्यहाँ तोरीको तेलको बत्ती, कलश, अष्टचिरञ्जीवीको पूजा चाहन्थे तर त्यो भएन ।
आसिक र उपहार दिन बुढा बूढीले पहिलो पालो पनि पाएनन् । खोइ त्यता ध्यान कसैको गएन कि वास्ता भएन ? बुहारीका माइतीपक्षको बोलबाला थियो । बूढाबूढी लाममा पछि परेका थिए । बूढाको हातमा फुकेको रङ्गिचङ्गी बेलुन, बूढीको हातमा धानको बालालाई बुकीझैँ चट्ट सजाएर ल्याइएको गुच्छा थियो । यस्तो अनौठो उपहार बूढाबूढीको हातमा देखेर त्यहाँ जुटेका चकित थिए । उनीहरू आ-आफ्ना बुध्दिले उपहारको प्रतीकात्मक अर्थ उधिन्दै थिए ।