अघोषित बहिष्कारले इजलास प्रभावित

everest kitchen

काठमाडौं । प्रधानन्यायाधीश प्रकरणलाई लिएर निरन्तर छलफलमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा नबसेपछि बुधबार पनि मुद्दाको सुनुवाइ प्रभावित भयो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमाथि सार्वजनिक रूपमा प्रश्न उठेसँगै अन्य न्यायाधीशहरू परामर्शमा छन् ।

सोमबार देखि न्यायाधीशहरू निरन्तर परामर्शमा रहँदा इजलास नबसेका हुन् । न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा नै विकल्प भएको निष्कर्ष मङ्गलबार नै प्रधानन्यायाधीशसामु पु-याइसकेका छन् । तर जबराले त्यसलाई अस्वीकार गरेका छन् ।

विवाद बढ्दै जाँदा न्यायाधीशको बैठक दैनिकी बनेको छ भने बिनासूचना इजलास प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् । बुधबार गठन भएका ११ मध्ये प्रधानन्यायाधीश जबराको एकल इजलास मात्र बस्यो । एकल इजलासमा पाँचवटा मुद्दा पेसी तोकिएका थिए ।

जसमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विपक्षी रहेको अवहेलना मुद्दा तामेलीमा राख्ने आदेश भयो । यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दा फिर्ता भएको छ ।

अन्य दुई बन्दीप्रत्यक्षीकरण र एक कालोबजारी सम्बन्धी मुद्दामा कारण देखाऊ आदेश भएको छ । सो बाहेक न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासमा पनि मुद्दाको सुनुवाइ भएन ।

यस्तै प्रधानन्यायाधीश नेतृत्वकै संवैधानिक इजलासमा पनि सुनुवाइ भएन । अन्य आठ संयुक्त इजलासको सुनुवाइ पनि प्रभावित भयो । सर्वोच्चको ११ इजलासमा दुई सयभन्दा बढी मुद्दा पेसी तोकिएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।