मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण कार्य सुचारु छैन: नेपाली राजदुतावास

everest kitchen

मलेसियामा । मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण कार्य सुचारु नभएको नेपाली राजदुतावास मलेसियाले जानकारी दिएको छ । मागपत्र प्रमाणीकरण गरेर मलेसियामा रोजगारीको लागि नयाँ कामदार जान पाउनु भन्ने समाचारमा सत्यता नभएको दुतावासले एक विज्ञप्ति जारी गरेर सुचित गरेको छ ।

नेपाली राजदुतावासमा द्धितीय सचिव प्रतिक कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मलेसियामा रोजगारी खुलेको र राजदूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने विषयका सम्बन्धमा यस राजदूतावासको ध्यानाकर्षण भएको छ । भिषाको म्याद कायम भएका व्यक्तिहरुलाई रोजगारदाताले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सातदिनको क्वारेण्टाइन बस्नेगरी मलेसिया आउन सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउन सक्ने सम्बन्धमा मलेसिया सरकारबाट राजदूतावासलाई कुनै जानकारी आएको छैन ।

कोभिड -१ ९ को प्रभाव नियन्त्रण गर्न मलेसियाले २०२० को मार्च १८ देखि लागू गरेको आवागमन नियन्त्रणसँगै स्थगित गरिएको मागपत्र प्रमाणीकरणको कार्य हालसम्म सूचारु गरिएको छैन । मागपत्र प्रमाणीकरणको कार्य सुचारु हुनासाथ सूचित गरिने र मागपत्र प्रमाणिकरण भएको जानकारी (एफईआईएमएस) मार्फत कामदार छनौट गर्न वारेसानामा प्राप्त वैदेशिक रोजगारी व्यवसायी संस्थालाई पुग्ने भएकोले यस बाहेक अन्य कुरामा भ्रममा नपर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ, विज्ञप्तिमा भनिएको छ ।

नेपालका लागि मलेसियन राजदुतावास काठमाडौंले केही दिन अघि एक विज्ञप्ति जारी गरेर मलेसियामा रोजगारीका लागि नेपाली लगायतका श्रमिकहरु जान पाउने उल्लेख गरेपनि नयाँ कामदार मलेसिया जान पाउने बारे नयाँ प्रक्रिया के हुने भने उल्लेख गरिएको छैन ।