“युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस्” युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्नु : मन्त्री गहतराज

everest kitchen

काठमाडौँ। युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय युवा परिषद्लाई युवाको केन्द्रका रुपमा स्थापित गर्न निर्देशन दिएका छन् ।

आज परिषद्को अनुगमनका क्रममा उहाँले ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको परिषद्ले युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्नुपर्ने बताए ।

उनले भने, “भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन योजनाको खाका तयार गर्नुहोस् ।” स्वदेशमा रोजगारी अवसर नहुँदा युवाहरु विदेशिने गरेकातर्फ इंगित गर्दै मन्त्री गहतराजले युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न नयाँ ढंगले सोच्नुपर्ने बताए ।

“युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस्”, उनले भने, “स्वदेशमै विभिन्न क्षेत्रमा सफल कर्मशील युवाबाट उत्प्रेरित हुने गरी अन्य युवालाई समेत स्वदेशमै परिश्रम गर्ने खालका योजनाहरु अगाडि बढाउनुहोस् ।”

सो अवसरमा मन्त्रालयका निमित्त सचिव कमलप्रसाद पोखरेल र सहसचिव विष्णुृराज ढकालले विभिन्न कारणले रोकिएको युवा लक्षित कार्यक्रम मन्त्रीको नेतृत्वमा अघि बढ्ने बताउनुभयो । कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगति विवरण पेश गरेका थिए ।