लघुकथा – अण्डीको बर्को पुण्य कार्की“बूढेशकालमा रगत त पातलो बन्छ बन्छ, छालापनि पातलो बन्छ कि क्या हो ? जिउ नै तात्दैन ”बूढीआमा त्यही खोलविनाको च्याङ्लो सिरक तानतुन पार्दै गन्गनाउँछिन् । खोल फाटेको तीनवर्ष अगाडि नै हो । सिरकभित्र खुप गुट्मुटिन त खोज्छिन् तर खोलविनाको सिरक पटक्कै तात्दैन ।
“एउटा खोल हाली दे न नानी !” छोरालाई बूढीले कतिचोटि गुनासो गरिन् । तर, आमाको कुरा सुनेको नसुन्यै गरी टारिरहेको छ ।
टोलमा एकाविहानै एकजुम्ली युवा काँधमा अण्डीका बर्का झुण्ड्याएर आयो । “ लौ आयो ! ओर्जी अण्डीका बर्का ! जुठो सुतक बिहेबटुलो जतिखेर पनि चाहिने !! जतिखेर पनि काम दिने !! सस्तोमा आयो सस्तोमा !!”
उसको आकर्षक विज्ञापनले सबै मान्छे झुम्मिए । आसाममा बुनिएको अण्डीको बर्को भनेपछि मान्छे लोभिए । किन्नमा होडबाजी नै चल्नथाल्यो ।
बूढीकिो छोराले सोच्यो– “ परार साल बाउ खस्तापनि तेह्रदिनसम्म किरियामा ओढ्नलाई अर्काकै घरबाट ल्याएर ओढ्नुप¥यो । एकथान बर्को त घरमै राखिराख्नु पर्ने हो । बर्का किन्नेको भिडमा पसेर उसले पनि एउटा बर्को किनेरै छोड्यो । बूढी आमाले यो सबै दृश्य आँखैसामु नियालिरहेकी थिइन् ।
छोराले बर्को किनेपछि उनको मनमा आशाको दियो बल्यो । बूढीले सोचिन्– “ छोराले मेरो जाडो देखेर मलाई नै किनिदियो ।”
आमाको आशा विपरित बर्को लगेर पट्याएर कन्तुरभित्र सुरक्षित रुपमा तालाबन्दी ग¥यो । उसले आमालाई जाडोमा ओढ्न होइन कि आमाको काममा आफूलाई ओढ्न किनेको कुरा आमालाई के थाहा ?