देशभर १ हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाईबर नेटवर्क

everest kitchen

काठमाडौँ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ ।

नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने जनाउँदै सुरु गरेको योजनाअन्तर्गत असोज मसान्तसम्म ४६ दशमलव ५३ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ ।

पहिलो खण्डअन्तर्गत प्रदेश नं १, २ र बागमती प्रदेशमा फाइबर बिछ्याउने जिम्मा पाएको नेपाल टेलिकमले उक्त क्षेत्रमा फाइबर जडान सम्पन्न गरेको हो । सम्झौताअनुसार टेलिकमले तीन प्रदेशमा दुई हजार ८३ किलोमिटर फाइबर बिछ्याउनु पर्दछ । त्यसमध्ये टेलिकमले पाँच वर्षमा एक हजार १३ किलोमिटर फाइबर बिछ्याएको हो ।

प्राधिकरणले मध्यपहाडी लोकमार्गको छ हजार २३५ किलोमिटर क्षेत्रमा फाइबर बिछ्याउने योजनालाई तीन खण्डमा विभाजन गरेर तीन छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिएको थियो ।

तीन खण्डमध्येमा एक खण्डमा विस्तारको काम भए पनि दुई खण्डको काम सुरु हुनै सकेको छैन । प्राधिकरणले पहिलो खण्डअन्तर्गत नेपाल टेलिकमसँग पूर्वी नेपालदेखि गोरखासम्म फाइबर बिछ्याउन विसं २०७३ असोज १२ गते दुई वर्षका सम्झौता गरेको थियो ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल टेलिकमले २०७६ जेठ पहिलो सातादेखि अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरेको बताउनुहन्छ । उहाँका अनुसार पहिलो खण्डअन्तर्गतका तीन प्रदेशमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउन सामान खरिदलगायत काम गर्न पाँच कम्पनीलाई जिम्मा दिएको छ ।