भाइटिका र भाइ

everest kitchen

कविता – भाइटिका र भाइ

सबिना श्रेष्ठ
एक जुगपछि परदेशदेखि
भाइको फोन आयो
दिदी यसपालि त भाइटिका लगाउने
गरि आउँछु फूल रोपी राख है!

म खुसीले गदगद हुँदै
हुन्छ भाइ आइज भने
पोहोर परार सालको
जस्तो मलाइ नठग है!
मैले भने तलाई के चाहियो?
यो दिदीको उपहार
तिहारमा,
भाइ निशब्द हुन्छ
मलाइ केहि पर्दैन त्यहीँ
तैले लगाई दिने सप्तरङ्गी टीका
फूलको माला र आशीर्वाद
त हो नि।

उस्ले हाँस्दै भन्यो मलाई एउटा
मात्र मालाले हुँदैन नि?
सयपत्री मखमली अह तेतिले
मात्र पुग्दैन जौ को अनि
गोदावरीको माला पनि चाहिन्छ।

हस् बाबा हस् पहिला
तँ आइज अनि जे जे गरे पनि
म गरौंला
तेतिले मात्र हुँदैन दिदी?
तलाई के चाहियो?
मलाई तेरै च्वाइसको
सटपनि चाहिन्छ।
त्यतिले मात्र पुग्दैन मेरा परेली
रुझेका बेला
नदी छेक्ने रुमाल पनि
चाहिन्छ।

त्यसो भन्दै खित्काछाडेर
हाँस्दै फोन राखेको भाइ
आउने उमङ्गले रमाएका
मेरा आँखाबाट खुसीको नहर
कति खेर झरे पत्तो पाइन
भाइटिका आउन दुईदिन
मात्र बाँकी थियो
जौ को माला उन्दै थिए
कुकुर रातभरी रुनथाल्यो
ए काले नरो न यसपाली मेरो
भाइ आउँदैछ
काग पनि अगाडि आएर
सुकेको खम्बामा कराउन थाल्यो!

ठाउँ सरी बस शुभ खबर के छ?
मेरो बोली एत्ति निस्किन्थ्यो
कता कता कोलाहल आवाज
आएझै लाग्न थाल्यो
राबणको युद्ध चलेझैँ आवाज
आएझै लाग्न थाल्यो
म फोन कलको आशामा छू
दिदी लिन आइज
भन्ने खबरमाको आशामा थिएँ
प्लेनको आवाज घरको छानो
उडाउला झैँ गरेर आयो
सोचे भाइ आयो एकैछिनमा
फोन आयो तपाईको मान्छे
बुझ्न आउनुस्
म हतारिँदै बिमानस्थल पुगे
रातो बक्समा लाईन
लगाईरहेका थिए फोटो र नाम देखाउदै
तपाईको मान्छे कुन हो?

मेरो होसहवास् उड्यो
मैले टेकेको धर्ती भासिए
झैँ भयो मलाई
भाईको रातो बक्सामा
बेरिएको सब लिएर आगनिमा
लम्पसार पारेर मैले
उनेको फूलको माला
रातो बक्समाथि चढाई
सप्तरङ्गी टीका
भाइ सँगै बिदा गरे
सदा सदाको लागि
भाइटिका र भाइ।